गुल्मीको चन्द्रकोटमा एक बाख्रा फारममा आगलागी,३१ लाख भन्दा बढीको क्षति
गुल्मीको चन्द्रकोट गाउँपालिकामा रहेको एक बाख्रा फारममा आगलागी हुँदा ३१ लाख भन्दा बढीको क्षति भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा वीरेन्द्र शाहले सञ्चालन गरेको बाख्रा फारममा गएराति आगलागी हुँदा ३१ लाख ७५ हजार मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक केदारराज पन्थले जानकारी दिनुभयो ।
जाली, जस्ता र काठले बनेको बाख्रा फारममा आगलागी हुँदा बाख्रा फारममा रहेका २५ वटा बाख्रा मध्ये १७ वटा माउ बाख्रा र ८ ओटा ठुला बोका जलेर मरेका छन् । फारम सञ्चालक २४ बर्षिय शाहको गालामा र हात जली मेडिकल कलेज भैरहवामा उपचार भईरहेको छ ।
आगलागी भएको जानकारी प्राप्त भएलगत्तै प्रहरी नायब निरिक्षक मन बहादुर आलेको कमाण्डमा ३ जनाको टोली घटनास्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।