भूकम्पले क्षतिग्रस्त बिद्यालयमध्ये गुल्मीमा एक सय बढीको पुर्ननिर्माणको कार्य सकियो


गुल्मी । भूकम्प गएको पाँच वर्ष बितिसक्यो । २०७२ साल बैशाखमा गएको भूकम्पले गुल्मीमा ३ सय १२ वटा विद्यालय भवनहरुका १ हजार २ सय ५२ वटा कक्षाकोठा क्षतिग्रस्त भए । भूकम्प गए पछिको यस अवधिमा अहिलेसम्म यस जिल्लामा १ सय २४ वटा विद्यालय भवनको २ सय ७४ वटा कक्षाकोठाको मात्र पुर्ननिर्माणको कार्य सकिएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा १५ वटा विद्यालय भवनको ४२ वटा कक्षाकोठा निर्माण कार्य सकिएको छ ।

आर्थिक वर्ष २०७४÷०७५ मा १५ वटा विद्यालय भवनको ४२ वटा कक्षाकोठा निर्माण कार्य सकिएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ८७ वटा विद्यालय भवनको १६२ वटा कक्षाकोठा निर्माण कार्य सकिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ४ कोठे ७ वटा विद्यालय भवनको निर्माण कार्य सकिएको छ । ४३ वटा विद्यालयमा सुविधा सम्पन्न शौचालयको पनि निर्माण कार्य सकिएको छ । ३४ वटा विद्यालयमा खानेपानी र सुविधा सम्पन्न शौचालयको निर्माणको कार्य भइरहेको छ ।

पुनर्निमाण भएका सबै विद्यालयहरुको निर्माण कार्य विद्यालय व्यवस्थापन समिति मार्फत गरिएको हो । अब १ सय २६ वटा विद्यालय भवनका ७ सय ६९ वटा कक्षाकोठाको पुनर्निर्माणको कार्य गर्न बाँकी रहेको छ । केन्द्रबाट प्राप्त कार्यक्रम थोरै र जिल्लामा प्रभावित भएका विद्यालयहरु धेरै भएको हुनाले उक्त विद्यालयहरुको पुनर्निर्माणको कार्य बाँकी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) गुल्मीका प्रमुख पिताम्बर पन्थीले जानकारी दिनुभयो ।

पुनर्निर्माणको कार्यावधि २०७८ पुस १० गते सम्म रहेको हुँदा बाँकी रहेका विद्यालयहरु नेपाल सरकारको निर्णय अनुसार अन्य निकायमा जिम्मेवारी हस्तान्तरण हुने पन्थीले बताउनुभयो । जिल्लामा अहिले ६२ वटा विद्यालय भवनका २ सय ९ वटा कक्षाकोठा निर्माणाधीन अवस्थामा छन् ।

क्षतिग्रस्त भएका विद्यालयहरुको पुनर्निमाण गर्नका लागि गुणस्तरिय निर्माण सामाग्रीको प्रयोग गरि निर्माण कार्य गर्न कार्यालयले विशेष जोड दिएको सूचना अधिककारी इन्जिनियर लक्ष्मण राउतले बताउनुभयो । विभिन्न समयमा कार्यालयले अनुगमन गर्ने क्रममा ढुङ्गा, गिट्टी, सिमेन्ट, फलामे छड÷डण्डी, बालुवा, ईटा, प्लाईउड, काठ, भाईवरेटर÷मिक्सचर, कंक्रिट (ढलान) लगायतका विभिन्न सामाग्रीहरुमा विशेष ध्यान दिँदै आएको उहाँले उल्लेख गर्नुभयो ।