रेसुङ्गा नगरपालिकाको भौतिक प्रगति २७ प्रतिशत
गुल्मी । रेसुङ्गा नगरपालिका गुल्मीको चालु आर्थिक वर्षको हालसम्म भौतिक प्रगति २७ प्रतिशत भएको छ । बुधबार जिल्लाको सदरमुकाम तम्घास बालमन्दिरमा ऐतिहासिकपूर्ण रुपमा सकिएको नगरसभामा नगर सभाअध्यक्ष तथा नगरप्रमुख डिल्लीराज भुसालले यस आर्थिक वर्ष २०७७÷०७८ मा हालसम्म गरेका कार्यहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै रेसुङ्गा नगरपालिकाको दोश्रो चौमासिक मध्य सम्ममा २७ प्रतिशत भौतिक प्रगति भएको बताउनुभयो ।
‘हाम्रो रेसुङ्गा, राम्रो रेसुङ्गा, सुखी रेसुङ्गा, खुसी रेसुङ्गा’ भन्ने नारा अवलम्बन गरेको यस नगरपालिकाले समग्र प्रशासनिक तथा विकाशात्मक गतिविधिबाट पुँजीगत खर्च २२ प्रतिशत तथा प्रशासनिक चालु खर्च ३० प्रतिशत भएको भुसालले बताउनुभयो ।
नगरसभाअध्यक्ष भुसालले समग्रमा खर्च प्रतिशत कम देखिनुमा काम सम्पन्न भएपछि मात्र भुक्तानी दिने परिपाटीले गर्दा भएको बताउनुभयो । समग्रमा सम्झौता गरिएका योजना र कार्यक्रमको संख्या र रकम हेर्दा २७ प्रतिशत प्रगति रहेको उल्लेख गर्नुभयो । हालसम्मको कामको प्रगति सन्तोषजनक रुपमा रहेको बताउनुभयो ।
नगरसभा अध्यक्ष भुसालले नगरपालिकाले लिएको नारालाई साकार बनाउन नगरपालिकाको आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, संस्थागत विकास तथा सेवा प्रवाह र सुशासन, सामाजिक सुरक्षा कार्यक्रम, राजस्वतर्फ भएका कार्यहरुमा भएका प्रगतिका बिषयमा नगर सभाका सभासद्हरुलाई जानकारी गराउनुभएको थियो ।
रेसुङ्गा नगरपालिका भित्र स्थानीय सरकार सञ्चालन ऐन २०७४, संघ, प्रदेश तथा नगरपालिका आफै निर्माण गरि लागू गरेका कानून विधि र प्रक्रियाको अधिनमा रही यस नगरपालिकाभित्र प्रशासनिक र विकासात्मक गतिविधि अघि बढाएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो ‘हाम्रो सिमित श्रोत र साधनका बाबजुत पनि जनताका आवश्यकता र मागलाई अन्तर निकाय समन्वयमा पुरा गर्ने पहल तथा लक्ष्य निरन्तर अगाडी बढाईएको छ ।’ नगर सभा अध्यक्ष भुसालले नगरपालिकाको यस अभियानमा सहयोग गर्ने सम्पूर्ण राजनैतिक दल, नागरिक समाज, कर्मचारीतन्त्र जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
आर्थिक वर्ष २०७७/०७८ मा नगर परिषदले स्वीकृत गरेका नीति कार्यक्रम तथा बजेटका लक्ष्यहरु समय मै पूरा गर्न सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै भुसालले रकम विनियोजन र कार्यान्वयनमा अन्तर निकाय समन्वयलाई अझ विस्तार गर्ने आशा व्यक्त गर्नुभयो । उहाँले नगरपालिकाको एकमात्र लक्ष्य जनताका खुसीयाली वृद्धि गर्ने रहेको बताउनुभयो । नगर सभामा उप–प्रमुख सीता भण्डारी, सचिव भक्तिराम मरासिनी तथा नगरसभा सभासद्हरुको सहभागिता रहेको थियो ।