दलहरुको सडक आन्दोलनले सर्वसाधारणलाई सास्ती !
काठमाडौं । पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि राजनीतिक दलहरुका गतिविधि बढेका छन् । दिनहुँ जसो प्रतिनिधिसभा विघटनको विरोध र समर्थनमा सडक आन्दोलन भइरहेका छन् । जसले गर्दा सर्वसाधारणको दैनिकी कस्टकर बन्दै गएको छ । अझ दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकीको छाक टार्दै आएका सर्वसाधारण नागरिकहरुमाथि आन्दोलन र प्रदर्शनले ठुलै असर पुर्याएको छ ।
कामका लागि घरबाट निस्कने बित्तिकै सरकारबिरुद्ध राजनीतिक दलका कार्यकर्ताबाट लगाइएको जिन्दावाद र मुर्दावादको चर्को आवाज र नारा सुन्न आम नागरिकहरु बाध्य र बिवश हुनुपरेको छ भने सडक प्रदर्शन र सवारी जामले मजदुरहरुको रोजीरोटीमा असर परेको छ जसकारण गन्तव्यमा पुग्न समेत सास्ती खेप्नु परेको छ ।
आन्दोलनका लागि राजनीतिक दलका कार्यकर्ताहरु बिहानैदेखि तयारीका साथ रातो र कालो झण्डासहित सडकमा आइसकेका हुन्छन् । जसका कारण मजदुरहरु समयमा काम गर्ने ठाउँमा त के आफु बस्ने डेरा समेत सजिलो गरी पुग्न सक्ने अवस्था छैन । दिनहुँको सडक आन्दोलन र त्यसका कारण हुने घण्टौ लामो सवारी साधनले गर्दा गरिखाने बर्गहरुको दैनिकी नै परिवर्तन भएर हरितन्नम् अवस्थामा पुग्न बाध्य भएको गुनासो गरिरहेका छन् । उनीहरुलाई को सत्तामा छ, को सडकमा त्यसको मतलव छैन । जो सत्तामा भएपनि मजदुरको जीवनशैलीमा केही फरक परेको छैन । त्यसैले उनीहरु विना अवरोध गरिखान देऊ भनिरहेका छन् ।
सत्तारुढ दल नेकपा भित्रको असन्तुष्ट ओलीइतर प्रचण्ड– नेपाल समुहसहित प्रमुख प्रतिपक्ष राजनीतिक दल नेपाली काँग्रेस र जनता समाजबादी पार्टी सडक आन्दोलनमा छन् । उता प्रधानमन्त्री ओलीसमुहका कार्यकर्ताहरु आगामी बैशाखमा निर्वाचन गर्न प्रधानमन्त्री ओलीले मिति घोषणा गरेकोमा खुशी ब्यक्त गर्दै स्वागत र समर्थनमा जुलुश र नारावाजी गर्दै आएका छन् ।
अहिले पनि नेकपा सत्तारुढ पार्टी हो । सत्तारुढ दलकै प्रमुख नेताहरु आफ्ना कार्यकर्ता परिचालन गरेर सडक आन्दोलन गर्नु कति जायज होला त्यसको मुल्याङ्कन जनताले गर्ने नै छन् । अझै कति दिन र कहिलेसम्म राजनीतिक दलका यस्ता गतिविधिहरु भइरहने र चालिरहने हुन राजनीतिका ज्योतिषहरुले पनि एकिनका साथ भविष्यवाणी गर्न सक्ने अवस्था छैन ।
आन्दोलनरत राजनीतिक दलका भातृ संगठनहरुलगायत नागरिक समाज र बिभिन्न संघ संस्थाहरुले प्रधानमन्त्री ओलीले चालेको कदमलाई असंवैधानिक मात्र भनेका छैनन् कि निरकुंश शैली हो भन्दै दैनिकजसो सडक आन्दोलन गरिरहेका छन् ।
राजनीतिक दलका कार्यकर्ताहरुलाई त सम्वन्धित पार्टीले खर्च पानीको व्यवस्था गर्ला । तर काम गर्न गन्तव्यमा पुग्न नसक्ने र कमाउन हिडेका मजदुरहरुको बालबच्चा र परिवारको पेट पाल्ने काम कसले गरिदिने ? नारा जुलुश गरेर उनीहरुको पेट भरिनेवाला छैन । कार्यकर्ताले गरेको झै गरी दिनभरी सडकमा कराएको भरमा घरमा बालबच्चाको पेट भरिने अवस्था पनि छैन । पाखुरा बजारेर दिनभरी काम गर्दासमेत त्यो ज्यालाको रकमले बिहान बेलुकीको छाक टार्न कठिन छ । हिजोआजको बढ्दो मंहगीले उनीहरुको हालत झन् चौपट बनाएको छ । दिनहुँ सडकमा घण्टौं जाम हुने गरी आन्दोलन भइरहने र यस्तै अवस्थाबाट मुलुक अगाडि बढिरहने हो भने मजदुरहरु आगामी दिनमा भोकले मर्नु पर्ने अवस्था नआउला भन्न सकिन्न ।
हुन पनि कोरोना महामारीका कारण लामो समयसम्म सवै क्षेत्र अस्तव्यस्त बनेर बल्ल तङ्रिन थालेका छन् । रोगका कारण अव चाही मरिन्न कि भनेर काममा फर्किएका मजदुरहरु सजिलै परिवार पाल्न सकिनेमा आशावादी पनि थिए । यही बेलामा राजनीतिक दलको भागबन्डा नमिल्दाको शिकार प्रत्यक्षरुपमा गरिखाने बर्गमा नै बढी पर्न गएको छ ।