निर्धारित समयमै चुनाव गर
सम्पादकीय
सरकारले आगामी बैशाख १७ र २७ गते दुई चरणमा गर्ने गरी घोषणा गरेको प्रतिनिधिसभाको मध्यावधि निर्वाचन हुने कुरामा आशंका जन्मिएको छ । बिश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले नराम्ररी थला परेको मुलुकको अर्थतन्त्र बल्ल लयमा फर्किन थालिरहेको समयमा बजेट अभावका कारण पनि निर्वाचन हुनसक्ने अवस्था छैन । अहिले बिश्वभर महामारी नियन्त्रणको लागि भन्दै खोपको उत्पादन भएर पनि बिकसित मुलुकहरुले प्रयोगमा ल्याइसकेका छन् । बिकसित मुलुकका नागरिकहरुले खोप लगाइसकेका पनि छन् । तर नेपाल अहिलेसम्म खोप भित्राउने बारेमा चर्चा चलाउँदै रहेपनि भित्राउन भने सकिरहेको छैन । यसकारण नेपाली नागरिकले कहिलेसम्म खोपको प्रतिक्षा गर्नुपर्ने हो यसै भन्न सकिने अवस्था छैन । सरकारले प्रयास गरिरहेको र छिट्टै ल्याउने भने पनि त्यसका लागि अहिलेसम्म बजेटको जोहो गर्न नसकिरहेको कुरा बाहिर आइरहेका छन् । बजेट व्यवस्थाको लागि सरकारले केहीदिन अगाडि सार्वजनिक सुचना निकालेर बिभिन्न संघ, संस्थासँग सहयोगको अपिल गरेको छ । यस कुराले पनि पुष्टि गर्दछ कि आजका दिनसम्म पनि खोपको लागि आवश्यक पर्ने रकमको जोहो गर्न सरकार असफल छ ।
सरकारले नेपाली नागरिकलाई निःशुल्क रुपमा खोप लगाउने उदघोष पनि गरेको छ । आप्mना नागरिकलाई बचाउनको लागि तत्काल आवश्यक खोप किन्नको लागि रकमको जोहो गर्न नसक्ने सरकारले बैशाखमा निर्वाचन गर्ला भनेर बिश्वास कसरी गर्न सकिन्छ ? यो अर्थमा सरकारले घोषणा गरेको मध्यावधि निर्वाचनलाई हास्यास्पद मानिदै आएको छ । अहिलेको आवश्यकता भनेको नेपाली जनतालाई बचाउनु नै सरकारको पहिलो कर्तव्य हुनजान्छ । त्यसपछि अरु कुराहरु हुँदै जालान् । नागरिकहरु स्वस्थ नै रहन सकेनन् भने निर्वाचन कस्का र के का लागि भन्ने प्रश्न उठनु अस्वभाबिक पनि होइन । नागरिकको पहिलो अधिकार भनेकै स्वस्थ भएर बाँच्नु नै प्रमुख बिषय हो । मुलुकको आर्थिक अवस्था यस्तो जर्जर अवस्थामा रहेकै समयमा सरकारले घोषणा गरेको निर्वाचन के र कस्का लागि भन्ने बिषय अहिले नेपाली जनता र नागरिक समाजका लागि बहसको बिषय बनिरहेको छ ।
तर प्रधानमन्त्री केपी शर्मा ओली भने तोकिएको र घोषित मितिमा निर्वाचन हुन्छ भन्दै नेपाली जनतामा भाषणमार्फत भ्रम छर्दै हिंडिरहेका छन् । सर्वसाधारण जनताले समेत पत्याउन नसक्ने कुरा गरेर नागरिकलाई अल्मलाउने काम प्रधानमन्त्रीस्तरबाटै किन भइरहेको छ, आम नागरिक र बुद्धिजीवीहरुले उनीमाथि प्रश्न तेस्र्यारहेको अवस्था छ । जुन ठाउँमा पुगेपनि आगामी बैशाखमा जुनसुकै हालतमा चुनाव गराएरै छाड्ने उडन्ते र हावादारी गफ छाँट्नु प्रधानमन्त्री ओली र उनको सरकारका मन्त्रीहरुको दैनिकी बन्दै आएको छ । करिव एक महिना अगाडि प्रतिनिधिसभा भंग गरेपछि सत्तारुढ दल नेकपा दुई समुहमा बिभाजित बन्न पुगेको छ । उनीहरुमध्ये कुन नेकपा आधिकारिक हो भनेर पहिचान हुन सकिरहेको छैन । यस्तो अवस्था निर्वाचनमा जाने प्रधानमन्त्री ओलीको निर्णय फगत घोषणामा मात्र सिमित हुने पक्कापक्की जस्तै देखिन्छ ।