ओलीलाई ढाल्न आमहड्ताल गर्ने प्रचण्डको चेतावनी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको कदमविरुद्धको आन्दोलनलाई निरन्तरता दिने बताएका छन् ।
काठमाडौँमा आयोजित आफू पक्षधर अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले
माघ १६ गतेपछि आम हड्ताल नै गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै कार्यकर्तालाई तयार रहन निर्देशन समेत दिएका छन् ।
पार्टी एकता गर्दाखेरी तय गरिएको विचार र विधि पद्धतिको कार्यान्वयनमा प्रधानमन्त्री ओलीले इमान्दारिता नदेखाएका कारण अहिलेको परिस्थितिको सिर्जना भएको बताउँदै प्रचण्डले व्यक्तिगत र पदको लागि होइन विचार, विधि तथा पद्धतीको संघर्ष भएको बताएका छन् ।
प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा पुगेकोले आफूहरुले आधिकारिकता पाउने विश्वास व्यक्त गर्दै उनले आफूहरु जनताको अदालतमा जाने दोहोर्याएका छन् ।
यसअघि प्रचण्डले शान्तिपूर्ण प्रदर्शनले नहुने बताउँदै हिंसात्मक आन्दोलनको संकेत गरेका थिए । प्रचण्डको यो अभिव्यक्तिको सामाजिक सञ्जालमा चर्को विरोध भएको छ ।