ओलीलाई भित्तामा पुर्‍याउने प्रचण्डको चेतावनी

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीलाई भित्तामा पुर्याउने चेतावनी दिएका छन् ।
आफू युद्धको पनि कमान्डर भएको बताउँदै प्रचण्डले कठोर बन्नुपर्ने परिस्थिति आए भित्तामै पुर्‍याइदिने चेतावनी दिएका छन् ।
राजधानीमा आज आयोजित प्रेस संगठन नेपालको दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफू भावुक खाल भएकाले फकिने स्वभावको भए पनि युद्धको पनि कमान्डर भएका कारण कठोर हुन पनि सक्ने बताएका छन् ।
ओलीले माधव नेपाललाई हेपेर इमान्दार क्रान्तिकारी कम्युनिष्टलाई पेलेर आफूलाई पनि उपयोग गर्ने सोच्नु गलत भएको प्रचण्डले बताएका छन् । ओली लोकतन्त्र, गणतन्त्र र सार्वभौम जनताकाविरुद्ध गएर लडाइँ हारेको पनि प्रचण्डले बताएका छन् ।
ओलीले वैशाखमै पार्टी फुटाउने तयारी गरे पनि आफूले जोगाएको दोहोर्याउँदै प्रचण्डले आफूले कार्यदल बनाएर फुटमा जानबाट रोकेको दावी गरेका छन् ।
निर्वाचन आयोगमा आफ्नो निर्देशनमा एमाले दर्ता गराएर ओलीले डाँडाको बीचको भएको सूर्य चिह्न बनाएको आरोप पनि लगाएका छन् ।
सचिवालय, स्थायी समिति केन्द्रीय समिति सबैतिर अल्पमतमा परेपछि ओली बैठक छलेर भाग्दै हिँडेको वताउँदै प्रचण्डले ओलीकै कारण पार्टीमा पटक पटक संकट आउँदा पनि पार्टी जोगाउनका लागि आफू र माधव नेपालले अपमान समेत सहेको बताएका छन् ।
प्रचण्डले प्रधानमन्त्री ओलीले पूर्व एमाले समूहलाई विश्वसमा लिन नसके बताउँदै ओलीलाई आफ्नो अनुहार ऐनामा हेर्न सुझाब समेत दिएका छन् ।