दुग्ध उत्पादक किसानलाई ४६ लाख रुपैयाँ अनुदान

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सहकारीमार्फत् दुग्ध उत्पादक किसानलाई ४६ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ । किसानलाई उत्पादनका आधारमा प्रतिलिटर एक रुपैयाँका दरले अनुदान रकम प्रदान गरेको हो ।
नगर प्रमुख वासुदेव घिमिरेका अनुसार उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरुप यो वर्ष किसानले ४५ लाख ९८ हजार ८ सय २१ रुपैयाँ प्रदान गरिएको छ । सहकारीले उपलब्ध गराएको आर्थिक वर्ष २०७६÷७७ को लेखापरीक्षण प्रतिवेदनको आधारमा २० वटा दुग्ध उत्पादक सहकारीमा आवद्ध ३ हजार २ सय ५५ जना किसानले अनुदान रकम प्राप्त गरेको नगरपालिकाले जनाएको छ।
दुग्ध उत्पादक सहकारीलाई प्रदान गरिएको अनुदान रकम सहकारीमार्फत किसानले प्राप्त गर्ने बताइएको छ । साना किसान लाभान्वित हुन भन्ने उद्देश्यले उत्पादनको आधारमा अनुदान रकम दिने नीति लिएको नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले बताएकी छिन् ।
यो वर्ष सबैभन्दा बढी अनुदान रकम वडा नं. १४ स्थित गौतमबुद्ध दुध डेरी दुग्ध चिस्यान केन्द्रले ९ लाख २६ हजार ८५२ रुपैयाँ प्राप्त गरेको बताइएको छ । यस्तै, वडा नं. १४ कै टिकुलिगढ दुग्ध उत्पादक सहकारीले ५ लाख २० हजार ५४ रुपैयाँ, वडा नं. १२ को गोकुल दुग्ध उत्पादक सहकारीले ४ लाख ७० हजार ५२७ रुपैयाँ, वडा नं. ६ को पञ्चामृत दुग्ध उत्पादक सहकारीले ४ लाख २७ हजार ५५७ रुपैयाँ प्राप्त गरेको बताइएको छ ।
नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा पनि यहीँ नीतिअनुरुप झण्डै ३७ लाख रुपैयाँ किसानलाई अनुदान उपलब्ध गराएको थियो ।