निर्वाचनसम्बन्धी कार्यक्रममा सहभागी हुन कांग्रेसको सर्कुलर
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन सम्वन्धी कार्यक्रममा सहभागी हुन देशभर आफ्ना समितिहरुलाई निर्देशन दिएको छ । जिल्ला सभापतिका नाममा कांग्रेसले सोमबार एक सर्कुलर जारी गर्दै मध्यावधि निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन निर्देशन दिएको हो ।
गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ गतेका लागि नयाँ निर्वाचनको मिति घोषणा भइसकेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरिएको सर्कुलरमा निर्वाचन आयोगले माघ १५ गतेबाट २१ गतेसम्म देशभरका ७५३ स्थानीय तहमा मतदाता अद्यावधिक गर्ने कार्यक्रम रहेकाले सो कार्यक्रममा सहभागिता जनाउन आग्रह गरिएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीलाई निर्वाचनमा केन्द्रित गर्नुपर्ने पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल संसद पुनस्र्थापनाको आन्दोलनलाई सशक्त बनाउनु पर्ने पक्षमा देखिएका छन् । तर कांग्रेसले औपचारिक रुपमा सर्वोच्च अदालतको निर्णय स्वीकार गर्ने बताउँदै आएको छ।