भारत सरकारद्वारा दश लाख मात्रा खोप हस्तान्तरण

काठमाडौँ । भारत सरकारले नेपाल सरकारलाई अनुदान स्वरुप कोरोनाविरुद्धको दश लाख डोज खोप उपलब्ध गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज प्रधानमन्त्री निवासमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा उक्त खोप हस्तान्तरण गर्नुभएको हो ।
अनुदान खोप ग्रहण गर्दै प्रधानमन्त्री ओलीले उदारतापूर्वक नेपाललाई अनुदानमा खोप प्रदान गरेकामा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।
आफ्नै नागरिकलाई खोप लगाउनुपरेको सङ्कटपूर्ण घडीमा दश लाख मात्रा खोप उपलब्ध गराएको भन्दै प्रधानमन्त्री ओलीले भारतप्रति कृतज्ञता ज्ञापन गर्नु भयो ।
निकटको छिमेकीका नाताले आफ्नो मुलुकले सकेको सहयोग गर्न पाएकामा सन्तुष्टि जनाउँदै नेपाललाई स्वास्थ्यलगायत अन्य क्षेत्रमा हरसम्भव सहायता उपलब्ध गराउन भारत सरकार प्रतिबद्ध रहेको राजदूत क्वात्राले बताउनुभयो ।

भारत सरकारले नेपाललाई अनुदानस्वरुप दिएको १० लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन आज विहान काठमाडौं आइपुगेको हो । अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्च्यिुट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप एयर इन्डियाको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । सो अवसरमा खोपहरु नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभएको थियो ।
खोपलाई विमानस्थलबाट सीधै टेकुको केन्द्रिय खोप भण्डारणसम्म लगिएको छ । सरकारले खोपलाई शुक्रबार प्रदेशको खोप भण्डारण स्थलसम्म लाने बताइएको छ । जिल्लागत विवरण सरकारले आज साँझ तयार गर्ने र पाँच दिनभित्र सबै जिल्लामा खोप पुर्‍याउने तयारीमा सरकार जुटेको बताइएको छ ।
भारतले दिएको १० लाख डोज उक्त खोप पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने सरकारको तयारी छ ।
अन्य जनताका लागि चाँडै खोप गरिद गरेर ल्याउने र खोप अभियान चलाइने बताइएको छ । अर्थमन्त्री तथा नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले सवै नेपालीलाई निःशुल्क खोप लगाउने बताउनु भएको छ । आज काठमाडौंमा आयोजित प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्वोधन गर्दै अर्थमन्त्री पौडेलले सो कुरा बताउनु भएको हो ।