केपी ओलीलाई तह लगाउन सकेनौं : प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गलत प्रवृत्तिलाई तह लगाउन नसकेकामा आत्मालोचना गर्दै अब जनताको बलमा तह लगाउने चेतावनी दिएका छन् ।
आज काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति रहेको आरोप लगाए ।
ओलीलाई मात्र दोष दिएर आफूहरु चोखो नहुने बताउँदै अब केपी प्रवृत्तिप्रति उदार भएर भित्रभित्र संघर्ष गर्ने र उनको प्रवृत्तिलाई काम गर्न दिने भुल नगर्ने बताए ।
ओलीले सुरुदेखि नै जनयुद्धलाई विरोध गर्दै आएको बताउँदै प्रचण्डले भने, ‘जनयुद्ध भनेपछि सुन्न पनि नचाहने एक नम्बर मान्छे उहाँ हुनुहुन्थ्यो पहिला । पछि शान्ति सम्झौता भएपछि त अलिकति मान्नुहोला कि भन्ने ठानेको त जनयुद्धका शहीदलाई सम्मान गर्ने कार्यक्रममा उहाँ एकचोटि पनि जानुभएन । मैले त्यसलाई खुब नोट गरेको थिएँ ।’
प्रधानमन्त्री बनेको यतिका वर्षसम्म ओलीले घाइते र योद्धाका समस्याको सुनुवाइ नगरेको प्रचण्डको गुनासो गरेका छन् ।
त्यस्तै सो समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले आज भएको प्रदर्शनमा जनआन्दोलनको झल्को देखिएको बताए । उनले यो कास्टिङ मात्र भएको भन्दै फिल्म सुरु हुन बाँकी नै रहेको बताए ।
अध्यक्षबाट हटाउनुका साथै साधारण सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधिएको बताउँदै नेता नेपालले उनको पत्रको प्रतिक्षामा रहेको बताए । उनले कतै ओलीले गल्ती स्वीकार्छन कि भन्ने आशा गरेको पनि जनाएका छन् ।
त्यस्तै वरिष्ठ नेता झलनाथ खनालले नेकपा कुन आधिकारिक हो भन्ने सडकमा आएर हेर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । उनले ओलीले घुँडा टेक्नुको विकल्प नभएको पनि बताएका छन् । अहिले आफूहरुसहित नेपाली कांग्रेस र जनता समाजवादी पार्टी आन्दोलनमा रहेको र छुट्टाछुट्टै आन्दोलन भए पनि सबैको प्रहार एकै ठाउँमा रहेको उनले बताएका छन् ।