‘परदेशी २’ दशैंमा रिलिज हुने
काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’ आउँदो बर्षको दशैंमा रिलिज हुने बताइएको छ । गत दशैंमा रिलिज गर्ने तयारी भएपछि कोरोना भाइरसका कारण रोकिएको थियो । यो चलचित्रको छायांकन सकिइसकेको छ । निर्माता राजेश वंशलले लकडाउनअघि र पछि गरि ५० दिन लगाएर चलचित्रको छायांकन गरिएको बताएका छन् । अमेरिका, भारतको विभिन्न स्थानसँगै नेपालको पोखरा, पाल्पा, चितवन, काठमाडौं लगायतका स्थानमा चलचित्रको छायांकन गरिएको बताइएको छ ।
चलचित्रको कथा दशैंको परिवेशसँग जोडिएको हुनाले प्रदर्शनका लागि दशैंलाई नै रोज्नुपरेको निर्देशक नारायण रायमाझीले बताएका छन् । चलचित्रमा दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देबेन्द्र बब्लू लगायतका कलाकारको अभिनय छ ।
नारायण ईन्टरनेशनल प्रा.ली.को ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले संयुक्त रुपमा ‘परदेशी २’ को निर्माण गरेका हुन् ।
चलचित्रको कथा रमेश विजीले तयार पारेका हुन् । सुदिप कुवँर मुख्य सहायक निर्देशक रहेको ‘परदेशी–२’मा मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको एक्सन, बि.बि. अनुरागीको संगीत तथा गोबिन्द राई र रामजी लामिछानेको कोरियोग्राफी, दीर्घ खड्काको सम्पादन छ ।