भारतको ‘कोरोना खोप’ कूटनीति

काठमाडौं । भारतले नेपालसँग सम्वन्ध सुधार गर्न प्रयास गरिरहेको संकेतहरु मिलेका छन् । लामो समयदेखिको सीमा विवादबारे परराष्ट्र मन्त्रीस्तरमा वार्ताका लागि टेवल भएको छ भने नेपाल सरकारले आग्रहगरेको एक हप्ता नवित्दै भारतले १० लाख डोज कोरोना भाइरसविरुद्धको भ्याक्सिन उपलव्ध गराएको छ ।
भारतले उपलव्ध गराएको १० लाख भ्याक्सिनले पाँच लाख नेपाली लाभान्वित हुने विश्लेषण गर्दै विभिन्न स्वास्थ्यविदहरुले संकटका बेला भारतले देखाएको उदारता सह्रानीय रहेको उल्लेख गरेका छन् ।
यस्तै सरकारले भारतलाई धन्यवाद दिँदै आउँदा दिनहरुमा भारतबाट सहयोग प्राप्त भइरहने आशा व्यक्त गरेको छ । नेपाली राजनीतिमा स्पष्ट रुपमा भारत र चीनको स्वार्थ जेलिदै गएको स्थितिमा भारतले परोपकारका क्षेत्रमा विभिन्न परियोजना चलाएर नेपालीको मन जित्न खोजेको छ । आफ्नै देशका नागरिकलाई खोप नपुगेका बेला नेपाललाई १० लाख डोज खोप उपलव्ध गराउनुलाई भारतको कोरोना खोप कूटनीतिका रुपमा हेरिएको छ ।
आज सवै प्रदेशमा ‘कोभिशिल्ड’ खोप पुग्ने
कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजसम्ममा सातवटै प्रदेशमा पुगिसक्ने बताइएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप आजसम्ममा सातवटै प्रदेशमा पुगिसक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका छन् । एक जनालाई दुई डोज खोप लगाउनु पर्ने भएकाले उक्त खोपले पाँच लाख लाभान्वित हुने बताइएको छ ।
बिहीबार भारतबाट आइपुगेको खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको थियो । प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण गरिने बताइएको छ ।
पहिलो चरणको उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइने बताइएको छ । प्रवक्ता गौतमका अनुसार सात प्रदेश र ७७ जिल्लामा गरी करीब तीन सय अस्पतालबाट खोप लगाइने छ । काठमाडौँ उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिने बताइएको छ ।
उक्त खोप स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्र्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ ।
दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिएका छन् । खोप लगाउन शुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ ।
माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने उक्त कोभिशिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी रहेको बताइएको छ ।
सरकारको कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना बनाएको छ । पहिलो चरण खोप लगाएपछि सरकारले दोस्रो चरणका लागि ‘कोभ्याक्स सुविधा’ नामक सयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ ।
कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसङ्ख्या पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार (जिटुजी), सार्वजनिक खरीद नियमावलीअनुसार र ठेक्कामार्फत ल्याउनेछ ।
अहिले विश्वमा फाइजर एन्ड बायोएनटेक कम्पनी (अमेरिका), मोडेर्ना (अमेरिका), ग्यामेलिया (रसिया), ‘स्पुतनिक–भी’ (रसिया) र अक्सफोर्ड अक्ट्राजेनिका (बेलायत) र चीनको ‘साइनोभ्याक्स’ लगायतका खोप कोभिड–१९ विरुद्ध प्रयोग भइरहेका छन् ।