केटु हिमालको आरोहीहरूलाई सरकारको सम्मान
काठमाडौँ । विश्वको दोस्रो ठुलो शिखर माउन्ट केटुको कीर्तिमानी आरोहीलाई आज स्वदेश फर्किएका छन् ।
उनीहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले दोसल्ला र प्रमाण पत्रद्वारा सम्मान गर्नुभएको हो ।
हिउँदे सिजनमा माउन्ट केटुको सफल आरोहण गरेर विश्व सामु नेपालको चिनारी र पहिचानलाई थप उँचो बनाउने काम गरेको भन्दै प्रधानमन्त्री ओलीले आरोहीहरुको प्रशंसा गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले हिमाल आरोहण जो सुकैले गर्न नसक्ने भएकाले हिमाल आरोहण गर्नेहरूका लागि विशेष मानपदवी र विभूषणको व्यवस्था सरकारले गर्ने जानकारी पनि दिनु भएको छ ।
हिमाल आरोहण सावधानीपूर्वक गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले हिमाल आरोहणमा जाँदा सरकारलाई जानकारी गराए सक्दो सहयोग गर्ने बताउनु भएको छ ।
कार्यक्रममा केटु हिमाल आरोहीको नेतृत्व गर्नुभएका निर्मल पूर्जाले देशको चिनारीका लागि आफूहरूले हिमाल चढ्ने गरेपनि कहीँ कतैबाट सहयोग नपाएको गुनासो गर्नुभयो ।
आरोहणमा पुर्जालाई मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमा चिरी शेर्पा, दावा शेर्पा, किलु शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाको आरोही टोलीले सघाएको थियो ।
उनीहरु पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो आठ हजार ६११ मिटर अग्लो केटू हिमालमा जाडोयाममा आरोहण गर्ने विश्वकै पहिलो आरोही बन्न सफल भएका हुन ।
नेपाली आरोही समूह यही माघ ३ शनिबार राति १ बजे केटूको शिखरमा पुगेको थियो । चुचुरोमा नेपालको राष्ट्रिय गानका साथ नेपाली झण्डा फहराएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । प्रतिकूल मौसमका कारण आरोहण समय तालिका ढिलाइ भएको थियो । दोस्रो क्याम्पमा आरोहीको त्रिपाल र आरोहणका लागि आवश्यक उपकरण हावाले उडाएपछि आरोहणमा केही चुनौती थपिएको थियो । विभिन्न कठिनाइबीच आरोहीले शिखरयात्रा पार गरी नेपालीको शानलाई विश्वभर पुर्याउन सफल भए ।
विश्वभरका पर्वतारोहीले केटु हिमाललाई किलर हिमालको रूपमा चर्चा गर्ने गरेका छन् । केटू हिमालमा अहिलेसम्म जम्मा ३६७ सफल आरोहण भएका छन् भने आरोहणको प्रयासमा ८६ जनाले ज्यान गुमाइसकेको जनाइन्छ ।