प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसद्वारा आन्दोलन घोषणा
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले तीन दिने प्रदर्शन गर्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्य समितिको बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भएको छलफलमा आन्दोलन गर्ने सहमति भएको हो।
कांग्रेसले माघ १९ मा भ्रातृ संगठन, २४ मा शुभेच्छुक संघसंस्था र माघ ३० गते पार्टीले देशभर प्रदर्शन गर्ने भएको छ ।
देउवा र पौडेलबीच आन्दोलनको कार्यक्रममा सहमति भएपछि केन्द्रीय कार्य समितिको बैठक बसेको हो । सभापति देउवाले प्रधानमन्त्री ओलीले गरेको विघटनप्रति नरम नीति अख्तियार गरेका छन् भने पौडेल कडारुपमा प्रस्तुत हुँदै आएका छन् ।
देउवा विघटनको विषयमा अदालतमा विचाराधीन रहेको भन्दै आन्दोलन गर्न नहुने पक्षमा रहेका थिए भने पौडेल प्रतिनिधिसभा पुनर्स्थापनाको विषयलाई लिएर कांग्रेसले सडक आन्दोलन गर्नुपर्ने बताउँदै आएका छन् ।