किन बढ्दै छ भ्रष्टाचार ?
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय समुदायमा उज्यालो छवि बनाएर अघि बढोस भन्ने धेरैको चाहना छ । तर आन्तरिक व्यवस्थापन गर्न नसक्दा ५० औं वर्षअघिका कैयन समस्या अरु विकराल बन्दै गएको देखिन्छ । तीमध्येको प्रमुख समस्या हो भ्रष्टाचार । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भने पनि त्यो उनको नारामै सीमित देखिएको छ ।
भ्रष्टाचारका विरुद्ध अध्ययन गरिरहेको संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा झन् भ्रष्टाचार बढेको जनाएपछि हामी झस्किनु पर्ने अवस्था आएको छ । १८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणाका आधारमा तयार पारिएको सूचीमा नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा ११७ औं स्थानमा परेको छ ।
गत वर्ष यस सूचीमा नेपालको अंक ३४ (११३ औं स्थान) थियो । यसले नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको देखाएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।
सो संस्थाले संसारभर एकसाथ भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्दै सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्टाचार रहेको जानकारी गराएको छ । यस वर्ष नेपालले १०० अंकमा ३३ अंकमात्र प्राप्त गरेर भ्रष्टाचारीकै पंक्तिमा बस्नु परेको छ । यो भनेको राष्ट्रको अपमान पनि हो ।
सीपीआई २०२० मा नेपालका लागि समाविष्ट विभिन्न ६ संस्थाका सर्वेक्षणले सरकारको भ्रष्टाचार विरोधी प्रयास पर्याप्त नभएको, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग बढेको, सार्वजनिक पदाधिकारीमाथि कारवाहीमा कमी देखिएको, व्यापार व्यवसायमा घुसखोरी कायम रहेको, सूचनामा नागरिकको पहुँचमा कमी भएको जस्ता समस्या कायमै रहेको सन्देश दिएको छ ।
विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वल्र्ड जस्टिस प्रोजेक्ट र भीडीइएमसमेत गरी ६ वटा संस्थाले गरेको सर्वेक्षणका आधारमा सूचकांकसहितको रिपोर्ट तयार पारिएको बताइएको छ ।
सो संस्थाले वर्षको सूचकांकमा समावेश १८० देशमध्ये डेनमार्क र न्युजील्याण्ड कुल १०० मा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएको उल्लेख गरेको छ । यस्तै साउथ सुडान र सोमालिया १२ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएका छन् ।
जुनसुकै दलको सरकार बनेपनि स्वार्थी समूहबाट घेरिने गरेको आरोप लाग्दै आएको छ । यस्तै सम्वैधानिक अंगहरुमा समेत भ्रष्टाचार बढिरहेका खबर आएका छन् । दण्ड र पुरस्कारको सिद्धान्त स्पष्ट नहुँदा भ्रष्टाचार नरोकिएको विज्ञहरुले सुझाव दिएका छन् ।
तसर्थ भ्रष्टाचार नियन्त्रण गरेर अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि स्वच्छ बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संस्थाहरुलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने आवश्यक छ भने सर्वसाधारणले पनि भ्रष्टाचार विरोधी मानसिकता बनाएर सोही अनुसार व्यवहार गर्नुपर्ने हुन्छ ।
भ्रष्टाचार नियन्त्रणको प्रयास पर्याप्त नहुँदा सार्वजनिक क्षेत्रमा अधिकारको दुरुपयोग र भ्रष्टाचार बढ्ने गरेको पाइन्छ । सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले व्यक्तिगत स्वार्थका लागि पदको दुरुपयोग गरेका कारण नेपालमा भ्रष्टाचारको अवस्था भयावह बन्दै गएको भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा काम गरिरहेका ज्ञाताहरुको तर्क छ ।
नियमनकारी निकायहरु सशक्त भएनन् भने ठेक्का प्रक्रियादेखि लिएर नागरिक संस्थाहरु पारदर्शी भएनन भने वा सूचनामा पहुँच नभएको अवस्थामा भ्रष्टाचार मौलाउने गरेको विश्वव्यापी अध्ययनले देखाएको छ ।
विश्व बैंक, वल्र्ड इकोनोमिक फोरमलगायत विभिन्न संस्थाले विश्वका विभिन्न देशमा गरेको अध्ययनमा नेपालको अवस्था भ्रष्टाचारको कारण कमजोर भएको विश्लेषण गरिएको छ । सुशासनको परीक्षामा ५० अंक भन्दा कम ल्याउने देशलाई भ्रष्टाचार ग्रस्त भन्ने गरिएको छ । यसमा नेपालले ३३ अंक मात्र पाएकाले कति लाजमर्दो अवस्था छ भन्ने स्पष्ट देखिन्छ ।