महानगरमा सिटी हल शिलान्यास गर्दा मेयर वेपत्ता !
चितवन । आफ्नै महानगरमा बन्न लागेको सिटी हल शिलान्यास समारोह भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल कतै पनि देखिइनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सिटी हल शिलान्यास गर्दा मेयर दाहाल उपस्थित नभएपछि त्यहाँका जनताले मेयर वेपत्ता भए जस्तो छ भन्दै खासखुस गर्दै थिए ।
शहरी विकास मन्त्रालयले भरतपुर महानगरपालिकाको वाइपास रोड नजिक सिटी हल बनाउँदैछ । जिल्ला समन्वय समिति चितवनले उपलब्ध गराएको चार बिघा चार कठ्ठा जग्गामा सिटी हल बन्न लागेको हो ।
सिटीहलमा अडिटोरियम ब्लकमा दुई हजार मान्छे अट्ने सुविधासम्पन्न सभाहल हुनेछ ।
सिटी हल उद्घाटन कार्यक्रममा संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा, शहरी विकास विकासमन्त्री प्रभु साह र वागमतीका मुख्यमन्त्री डोरमणि पौडेललगायतको उपस्थिति थियो ।
मेयर दाहालले महानगरपालिकासँग समन्वय नगरी शिलान्यास गरिएकाले आफू सहभागी नभएको बताएकी छन् ।
केही दिनअघि प्रधानमन्त्री ओलीले छोरी रेणुलाई मेयरमा जिताउन तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहालले कार्यकर्ता लगाएर मतपत्र च्यातेको प्रसंग कोट्याएका थिए । सो प्रसंगबारे प्रतिक्रिया दिँदै मेयर दाहालले आफूमाथि राजनीतिक हिंसा भएको आरोप लगाएकी थिइन् ।