गजल
समयले आफ्नो परिचय दिनु पर्दैन ।
एउटा चौतारीले जस्तो पर्खिनु पर्दैन ।
बचपन, बिना लगामको घोडा हो,
जिम्मेवारीको बोधले बाँधिनु पर्दैन ।
शिरको सिन्दुर होइन बरू श्रृङ्गार बन,
भोलि छोडेरै जाँदा पनि पुछिनु पर्दैन ।
मन ढुङ्गाकै भइदियोस स्थिर रहन्छ,
मैनबत्ती झैँ पग्लिएर सकिनु पर्दैन ।
बरू काँडा बनेर दुश्मन बन्नु ठिक छ,
फूलले झैँ हरेक बिहान चुँडिनु पर्दैन ।
आफ्नो भएर पनि आफन्त बन्दैनन्,
कोही पराई बन्नलाई टाढिनु पर्दैन ।
छोडेर जानेलाई के थाहा ‘रुबस’,
नबिर्सिनका लागि सम्झिनु पर्दैन ।
रुरु गाउँपालिका–३, गुल्मी
हाल ः कुलेश्वर–१४, काठमाडौं