थप १४२ जनामा कोरोना सङ्क्रमण, २०६ निको

१ लाख ३५ हजारभन्दा बढी व्यक्तिले लगाए खोप

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका संक्रमित १४२ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ४३१ जना पुगेका छन् ।
पछिल्लो २४ घण्टामा ३ हजार ५५७ जनाको पीसीआर परीक्षण गरिएको थियो । हालसम्म २० लाख ८१ हजार ६६५ वटा पीसीआर परीक्षण भइसकेको छ ।
त्यस्तै देशका विभिन्न अस्पतालबाट २०६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६७ हजार ६५ जना पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.४ मा उक्लेको छ ।
मन्त्रालयका अनुसार हाल २ हजार ३३५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेकाले छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ जना सङ्क्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३१ जना पुगेको छ ।
यसैवीच आज पुष्टि भएका मध्ये काठमाडौंमा उपत्यकामा ५५ जनामा भएको मन्त्रालयले जनाएकोछ । काठमाडौंमा ४४, ललितपुमा ८ र भक्तपुरमा ३ जनामा फेला परेको हो ।
त्यस्तै अहिलेसम्म १ लाख ३५ हजारभन्दा बढी व्यक्तिले खोप लगाएको मन्त्रालयले जनाएको छ । लक्षित वर्गमा कोही छुटेमा चाँडै खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ । यही माघ १४ गतेबाट नेपालमा खोप लगाउन शुरु गरिएको थियो ।