१५ दिनभित्र जसपामा पहिरो जाने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल छोडेर नेकपामा प्रवेश गरेका नेता डा. शिवजी यादवले १५ दिनभित्र जसपामा पहिरो जाने दावी गरेका छन् । मंगलबार वेलुका मात्र नेकपाको ओली समूहमा प्रवेश गरेका यादवले जसपाका उच्चदेखि स्थानीय तहसम्मका नेताहरुको ठूलो संख्या ओली समूहमा प्रवेश गर्ने दाबी गरेका छन् ।
यादवले जनताको जनमत लिन चुनावमा जाने विषयलाई पार्टीले अस्वीकार गरेर आन्दोलन सुरु गरेको हुँदा आफूले जसपा परित्याग गरेर ओली नेतृत्वको नेकपामा प्रवेश गरेको बताएका छन् ।
यसअघि जसपाका सचेतक समेत रहिसकेका यादवले भने “निर्वाचनमा नजाने कुरामै मेरो मुख्य असहमति हो, हामीले संविधान सभाले बनाएको संविधानलाई नमानेर जलाएकै थियौं, पछि चुनावमा सहभागी भयौं, फेरि अहिले चुनावको विरोध गर्ने निर्णय पनि उहिलेको संविधान नमान्ने जस्तै हुने देखेर म त्यो पार्टीमा बस्न उचित ठानिनँ ।’
पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित अवस्थामा छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले सडक आन्दोलन चर्काइरहेको छ। नेपाली कांग्रेस र जसपा लगायतका संसदमा रहेका दलले पनि प्रतिनिधि सभा पुनस्र्थापना माग गरेर आन्दोलन गरिरहेका छन् ।
तर प्रधानमन्त्री ओली भने निर्धारित मिति २०७८ वैशाख १७ र २७ गते निर्वाचन भएरै छाड्ने दावी गर्दै चुनाव केन्द्रित देश दौडाहा गरिरहेका छन् । उनले विभिन्न पार्टीका नेता, कार्यकर्तालाई पार्टीमा प्रवेश पनि गराइरहेका छन् ।
पुस ५ अघि सिंहदरवार समेत नजाने प्रधानमन्त्री ओली त्यसयता देशका विभिन्न जिल्लामा पुगेका छन् । उनी दैनिक जसो एउटा न एउटा कार्यक्रमा सहभागी हुँदै आएका छन् ।