किरण पुस्तकालय तम्घास गुल्मीको अध्यक्षमा शशी पन्थी निर्वाचित

किरण पुस्तकालय तम्घास गुल्मीको अध्यक्षमा शशि पन्थी निर्वाचित हुनुभएको छ । शनिबार ‘समाज रूपान्तरणका लागि पुस्तकालय’ भन्ने मूल नारामा साथ रेसुंगा नगरपालिका–८ मा रहेको बालमन्दिरमा भएको ५३ औं अधिवेशनद्वारा पन्थी अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन संयोजक प्रेमराज आचार्यले जानकारी दिनुभयो ।उपाध्यक्षमा दिन पन्थी, सचिवमा चनकबहादुर कुँवर, कोषाध्यक्षमा हेमकला राना निर्वाचित हुनुभएको छ । सदस्यहरूमा गोपाल पन्थी, दान बहादुर केसी नन्दराम भुसाल रहनुभएको छ । दुई जना सदस्यहरु मनोनित गर्न बाँकी रहेको छ ।

रेसुंगा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख ढुण्डीराज पोखरेलले अध्यारो समाजलाई उज्यालो बनाउने प्रतिकका रूपमा दिप प्रज्वलन गरि अधिवेशनको उदघाटन गर्नुभएको थियो । त्यस अवसरमा प्रमुख अतिथि समेत रहनुभएका पोखरेलले पुस्तकालयको महत्व कहिल्यै नघट्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘पुस्तक पढेर आउने आनन्द नेट र ईन्टरनेट मा पढिने सामग्रीले तृष्णा मेटिदैन ।’ अहिले यस पुस्तकालयको नयाँ भवन निर्माण पनि भएकाले अब पुस्तकालय सञ्चालनको पद्धतिमा पनि परिवर्तन हुनु पर्ने उल्लेख गर्नुभयो ।

वडा अध्यक्षहरू अखिलेश्वर प्रसाद पाण्डे, पदम प्रसाद अर्याल तथा भरत भलामीले पुस्तकालयलाई प्रविधि मैत्रीपूर्ण बनाउन आवश्यक पर्ने स्रोत साधन जुटाउन आफूहरू प्रतिवद्व रहेको उल्लेख गर्नुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत यस जिल्लालाई शैक्षिक जगतको रूपमा परिचित गराउन सकेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

यस पुस्तकालयमा स्थापित जानकी साहित्य पुरस्कारका संरक्षक शंकर प्रसाद गौतम, निर्वाचन संयोजक अधिवक्ता प्रेमराज आचार्यको पनि आतिथ्यता रहेको थियो । यस्तै किरण पुस्तकालयले गरेका विविध गतिविधिहरू समेटिएको सचिवको प्रतिवेदन दिन पन्थीले प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा विश्वव्यापी महामारीको रूपमा रहेको कोरोनाको कहरका बीचमा पनि नियमित कामहरू सामान्य रूपमा चलेको उल्लेख छ ।

यस बीचमा पुस्तकालयको लागि लुम्बिनी प्रदेश सरकारबाट रू पचास हजार, रेसुंगा नगरपालिकाबाट ‘हाम्रो पुरूषार्थ’ पत्रिका प्रकाशनका लागि रु एक लाख, इस्मा गाउँपालिकाबाट ‘हाम्रो पुरूषार्थ’ पत्रिका प्रकाशनका लागि रू एक लाख तेह्र हजार तथा कर्मचारी मिलन केन्द्र गुल्मीकाट अनुदान स्वरूप रू दुई लाख रकम सहयोग प्राप्त भएको पन्थीले जानकारी दिनुभयो ।

कोषाध्यक्षको प्रतिवेदन चनक बहादुर कुँवरले प्रस्तुत गर्नुभएको थियो । कुँवरले किरण पुस्तकालयले गत आर्थिक वर्ष २०७६र०७७ मा कूल आम्दानी ७ लाख १० हजार २ सय २५ रूपैयाँ गरेको जानकारी दिँदै जसमध्ये ६ लाख ८६ हजार ५११ रूपैयाँ खर्च गरेको तथा २३ हजार ७४४ रूपैयाँ बचत रहेको बताउनुभयो । नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) को सहयोगमा भ्याट बाहेक रू ३ करोड ४२ लाख ६६ हजार ७ सय ४० रूपैयाँ ४४ पैसा बराबरको लागतमा पुस्तकालय निर्माणको कार्य अन्तिम चरणमा रहेको कुँवरले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७७र०७८ का लागि रू ११ लाख बराबरको अनुमानको प्रस्तावित आय–व्यय र आर्थिक वर्ष २०७६र०७७ को कुल ३० लाख ३१ हजार ७९६ रूपैयाँ बराबरमो आय–व्यय विवरण सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा कवि नमोनारायण पन्थीले कविता वाचन गर्नुभएको थियोे ।

शशि पन्थीको अध्यक्षता, हिमकला रानाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सदस्य गोपाल पन्थीले गर्नुभएको थियोे । २०२५ सालमा स्थापना भएको किरण पुस्तकालयको संरक्षक सदस्य –८ जना, बिशिस्ट सदस्य –८ जना, आजीवन सदस्य ९० जना रहनुभएको छ । यस पुस्तकालयको अत्याधुनिक भवन निर्माणको अन्तिम चरणमा छ । पुस्तकालयले ‘हाम्रो पुरूषार्थ’ का सम्पूर्णाक ८४, ८५, ८६ र ८७ प्रकाशित गरेको छ । सम्पूर्णाक–८६ कवि भेष बहादुर कुँवर ‘प्रयासी’ को स्मृतिमा ‘प्रयासी स्मृति’ अंकको रूपमा, विष्णुप्रसाद खनालको ‘अमृत पान’ र मन बहादुर खत्रीको ‘गजल चालिसा’ प्रकाशित गरेको छ । अमर साहित्यकारहरूका जन्मजयन्तीहरू समेत मनाउँदै आएको छ ।