अदालतको फैसलाको प्रतीक्षामा कांग्रेस
हड्ताल र हिंसात्मक आन्दोलन नगर्न अपिल
काठमाडौं । नेपाली कांग्रेसले शान्तिपूर्ण आन्दोलन गर्न सबै दल र संस्थाहरूलाई अपिल गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले केही दिनअघि विज्ञप्ति निकालेर जनतालाई दुःख नदिने गरी शान्तिपूर्ण आन्दोलन गर्न अपिल गरेका हुन् ।
प्रतिनिधिसभा विघटनविरूद्ध कांग्रेसले शनिबार पनि प्रदर्शन गरेको छ । प्रदर्शनको पूर्वसन्ध्यामा विज्ञप्ति निकालेर प्रवक्ता शर्माले सडकबाट शालिन ढंगले विरोध गर्न निर्देशन दिएका छन् भने अन्य पार्टीहरुलाई पनि शालिनता देखाउन आग्रह गरेका छन् ।
‘नेकपाको सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्तिविरुद्ध कांग्रेस संसद र सडक दुबै ठाउँमा शालिन ढंगले प्रस्तुत हुँदै आयो । अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं,’ शर्माले भनेका छन् ‘संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न हामी दृढ छौं । विघटनविरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपील समेत गर्न चाहन्छौं ।’
यसैवीच नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध अहिले संयुक्त आन्दोलनका बारेमा केही नसोचेको बताएका छन् ।
शनिबार गृहजिल्ला तनहुँको दमौलीमा आयोजित साक्षात्कार कार्यक्रममा नेता पौडेलले कांग्रेस अहिले अदालतको फैसलाको प्रतीक्षामा रहेको बताए ।
नेता पौडेलले देशमा स्थायित्व र समृद्धि आवश्यक रहेको बताउँदै देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा जोड दिएका छन् । नेपाली कांग्रेसले मात्रै देश विकास गर्नसक्ने दाबी गर्दै उनले नयाँ राजनीतिक धु्रवीकरण कांग्रेसका लागि अवसर भएको बताए ।
उनले कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिँदै झण्डै दुई तिहाइ मत प्राप्त सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले जनताको आकर्षण कांग्रेसमा बढेको दावी गरेका छन् ।
नेता पौडेलले पार्टीको विधान बचाएर कांग्रेसलाई पनि बचाउनुपर्ने बेला आएको भन्दै पार्टीभित्र भएका विधानविपरीतका काम सच्याएर अगाडि बढ्नुपर्ने बताए ।
कांग्रेसको आगामी महाधिवेशनमा सभापतिबारे सोधिएको सञ्चारकर्मीको प्रश्नमा वरिष्ठ नेता पौडेलले अहिल्यै त्यसबारेमा बोल्ने बेला नआएको टिप्पणी गरेका छन् ।