कांग्रेसले कसैसँग मिलेर आन्दोलन गर्दैन : महामन्त्री कोईराला

काठमाडौं । नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग नमिल्ने महामन्त्री शशांक कोईरालाले बताएका छन् । सोमबार नेपालका पूर्व प्रधानमन्त्री सुशिल कोईरालाको छैठौँ स्मृति दिवसको अवसरमा सुशील कोईराला सोसलिष्ट युथ सर्कलले काठमाडौंमा आयोजना गरेको ‘संकटमा संविधान’ विषयक गोष्ठिमा बोल्दै महामन्त्री कोईरालाले सो कुरा बताएका हुन ।
नेपाली कांग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जानु नहुने महामन्त्री कोइरालले बताएका छन् । संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुने पनि बताएका छन् । महामन्त्री कोईरालाले आफ्नो कार्यकर्ताहरुलाई समेटेर एकजुट बनाएर लिएर जान सके कांग्रेसको भविष्य उज्वल रहेको बताएका छन् ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी९नेकपा० पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले संविधानको रक्षा गर्नु अहिलेको मुल दायित्व भएको बताउँदै संयुक्त आन्दोलन गर्नुपर्ने बताए । संविधान, लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्नुपर्ने वताउँदै नेता पन्तले संघीयता र धर्मनिरपेक्षताको बारेमा प्रश्न उठाएर संविधानलाई कमजोर बनाउनु नहुने बताए ।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले अहिलेको समस्याको मुख्य जड प्रधानमन्त्री ओलीको मानसिकता रहेको बताए । ओलीलाई जनताले संसद, संविधान र कानुनको अधिनमा बसेर शासन गर्न चुनाव जिताएर पठाएको भएपनि कानुन, संविधान, अदालत केही नमान्ने प्रवृत्ति उनमा रहेको आरोप लगाए ।