चर्चाको शिखरमा प्रधानमन्त्री ओली

टिप्पणी

राजनीतिक घटनाक्रममा प्रधानमन्त्री केपी शर्मा ओली नै चर्चाको केन्द्रविन्दुमा देखिएका छन् । न्यायपालिका, सञ्चारजगत, सडक संघर्ष, चिया पसल, यातायातका साधानदेखि सामाजिक सञ्जालहरुमा उनी सर्वाधिक चर्चाका पात्र बनेका छन् । प्रतिनिधिसभा विघटन सही हो या गलत, सम्वैधानिक हो वा असंवैधानिक त्यसको फैसला सर्वोच्च अदालतले गर्ने छ भने उनले राम्रो काम गरे वा नराम्रो त्यसको फैसला आगामी निर्वाचनले गर्ने छ । तर पनि नेपाली राजनीति भने उनकै वरीपरी घुमेको छ ।
आलोचना वा प्रसंशा जे भएपनि उनी चर्चाको शिखरमा छन् र भविष्य पनि उनको चर्चा भइरहने देखिन्छ । कसैले ओलीले लोकतन्त्र र संविधान सिध्याउने आरोप लगाएका छन् त कसैले राष्ट्र र जनताको भविष्य यिनैले सुरक्षित गर्छन् भनिरहेका छन् । राष्ट्र र जनताका लागि जे गर्छन्, यिनै ओलीले गर्छन् भन्नेहरुको जमात पनि धेरै देखिन्छ ।
२०७२ सालमा भारतले गरको नाकाबन्दीको विरुद्धमा लिएको अडान, चीनसँगको पारवहन सम्झौता, भारतले कब्जा गरेका नेपाली भूमि समेटर जारी गरेको नयाँ नक्सा तथा देश र जनताका पक्षमा विदेशीसँग नझुक्ने उनको स्वभावले धेरैलाई आशावादी तुल्याएको देखिन्छ ।
यही क्रममा शुक्रबार प्रधानमन्त्री ओलीले काठमाडौंमा आयोजित आमसभालाई सम्वोधन गर्ने खबरप्रति स्वदेशी तथा विदेशी सञ्चारमाध्यमहरुको समेत ध्यानाकर्षण भएको थियो । धेरै सञ्चारकर्मीहरुले ओलीले केके बोल्छन् भनेर चासो राखेका थिए । केही नयाँ खुलासा वा घोषणा गर्ने अपेक्षा धेरैले गरेका थिए । तर ओलीले विगतमा भन्दै आएको जस्तै मात्र अभिव्यक्ति दिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबारको सभामा पनि राजनीतिक स्थिरता र मुलुकको स्थायित्वका लागि नयाँ जनादेशमा जाने निर्णय सरकारले गरेको बताए । काम गर्न नदिने अनि सरकारले काम गरेन भन्ने भ्रम फैलाउनेहरु विरुद्ध जनताको ताजा जनादेश लिन निर्वाचनमा जाने निर्णय भएको उनले दोहोर्याए ।
नेकपा बागमति प्रदेशद्वारा दरवारमार्गमा आयोजित बृहत आमसभामा बोल्दै अध्यक्ष ओलीले आमसभाको उपस्थितिले मूल पार्टी कुन हो भन्ने प्रमाणित भएको दावी समेत गरे । प्रधानमन्त्री ओलीले देशको सार्वभौमसत्ताको रक्षा, स्वाधिनताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, मुलुकको समृद्धि, लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने पार्टी आफू नेतृत्वको नेकपा नै भएको पनि बताए ।
सर्वोच्च अदालत, निर्वाचन अयोगलाई प्रचण्ड–माधवहरुले धम्की दिनु गलत भएको बताउँदै प्रधानमन्त्री ओलीले ती संस्थाले स्वतन्त्रतापूर्वक विवेकसम्मत ढङ्गले निर्णय गर्न पाउने बताए । अब चुनाव कसैले रोकेर नरोकिने बताउँदै उनले सबैचिजको फैसला चुनाव मार्फत जनताले गर्ने पनि बताए ।
अब नेपालमा कसैले हिंसा मच्चाउन नसक्ने भन्दै प्रधानमन्त्री ओलीले कसैले नरभक्षी आन्दोलन चलाउँछु भनेर नसोचे हुने चेतावनी पनि दिए ।
देश र जनताको पक्षमा सरकारले निरन्तर काम गरिरहने प्रतिवद्धता जनाउँदै प्रधानमन्त्री ओलीले मुलुकको कुनै पनि नागरिक बेसहारा नहुने पनि बताए । ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने मुल लक्ष्य साथ सरकारले काम गरिरहेकाले केही तत्वहरु त्यही हुन नदिन विभिन्न बहानामा अवरोधको प्रयास गरिरहेको वताउँदै उनले पूर्व–पश्चिम रेलको बाटो शुरुभएको र चाँडै नेपालको पूर्व–पश्चिम रेल सञ्चालन हुने बताए ।
भारत र चीनतर्फबाट नेपालमा रेल गुडाउने सहमति भएको जानकारी दिँदै उनले काठमाडौंदेखि केरुङ पुग्न एक घण्टामा पुग्ने राम्रो बाटो बनाइने र नेपाललाई सुरुङमार्गमा प्रवेश गराइएको बताए ।
प्रधानमन्त्री ओलीले देशमै उद्योग, कलकारखाना सञ्चालन गरेर युवालाई विदेश जान नपर्ने वातावरण निर्माण भइरहेको वताउँदै सामाजिक सुरक्षा भत्तामा बृद्धि गर्ने र काम गरेबापत सबैका लागि पेन्सनको व्यवस्था मिलाउने काम सरकारले गरिरहेको वताए ।
देशलाई भ्रष्टाचारमुक्त बनाई छाड्ने लक्ष्य आफूले लिएको दावी गर्दैै प्रधानमन्त्री ओलीले विभिन्न बहानामा त्यसलाई भड्काउने प्रयास भइरहेको आरोप पनि लगाए । तर त्यसलाई सफल बनाएरै छाडिने प्रतिवद्धता पनि दोहोर्याए । नेपाली भूभागसहितको पछिल्लो राजनीतिक तथा प्रशासनिक नक्सा छापिएपछि आफू हटाउने अभियान केही तत्वहरुले शुरु गरकोे पनि बताए ।
दुई–चारजना मान्छे पार्टी छाडेर जाने वित्तिकै संवैधानिक आयोगले पूर्णता पाएको स्मरण गर्दै यसअघि काम गर्न नदिएर समस्या भएको बताए । आयोगले पूर्णता पाएको भोलिपल्टै नेपाल बन्द गरेर ती तत्वहरु जनताको पक्षमा नरहेको स्पष्ट भएको पनि बताए ।
जनताको सचेत सोच र निर्णयप्रति धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले जनताको बल र शक्तिले नै नेपाललाई समृद्ध बनाई छाड्ने बताए । नेपाली जनता सचेत भइसकेकाले लोकतन्त्र कसैले भाँड्न नसक्ने वताउँदै मुलुकको लोकतन्त्रमाथि कड्के नजर नलगाए हुने चेतावनी दिए ।
मुलुकको स्वाधिनता, स्वाभिमान, सार्वभौमसत्ता, लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफूहरु लागिपरेको वताउँदै ओलीले भने “बेलायतमा लिखित संविधान छैन, तर त्यहाँको प्रधानमन्त्रीले संसद विघटन गर्न सक्छ, सरकारले संविधानलाई टेकेर प्रतिनिधिसभा विघटन गरेर नयाँ जनादेशमा जाने निर्णय गरेको हो ।”
फेरि लोडसेडिङ हुन्छ भन्ने भ्रम फैलाउने काम भएको वताउँदै उनले विजुलमा आत्मनिर्भर मात्र होइन, बिक्री गर्ने ठाउँमा नेपाल पुगेको बताए ।
पर्वतको फलाम खानीबाट निस्किने फलामबाट आत्मनिर्भर हुन सकिने वताउँदै प्रधानमन्त्री ओलीले जाजरकोटको तामाखानी, दैलेखबाट पेट्रोल, वैतडीबाट फोस्फोरसको खानीको उत्खनन्को काम भइरहेको पनि बताए ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रमले पार्टीका समर्थक र विरोधी मात्र होइन, राजनीतिमा खासै चासो नभएका सर्वसाधारणले समेत राष्ट्र आउँदा दिनहरुमा कसरी अघि बढ्छ भन्ने चासो व्यक्त गरिरहेका बेला प्रधानमन्त्रीले कुनै महत्वपूर्ण घोषणा गर्छन् कि भन्ने अपेक्षा गरेका थिए ।
घातप्रतिघातभित्र अल्मलिएको सत्तारुढ दलको राजनीतिले अहिले पनि जनतालाई आशावादी बनाउन सकेको देखिदैन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस समेत वादलभित्र हराएको विमान जस्तो देखिएको छ । अन्य दलहरु आफ्नो अस्तित्व रक्षाका लागि छटपटाइरहेका छन् । त्यसैले सम्वैधानिक र राजनीतिक बाटो अवरुद्ध हुँदै जाँदा मुलुकमा चरम संकट आउन सक्ने चिन्ता सर्वत्र भइरहेको छ ।