कृषिमन्त्रीद्वारा तरकारी बजारमा अनुगमन

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गर्नुभएको छ । आज कालीमाटीस्थित तरकारी बजार पुगेर उहाँले वस्तुस्थितिबारे जानकारी लिनुभयो ।

मन्त्री अर्यालले तरकारी बजारको ‘स्टल’ र सरसफाइ कार्यलाई व्यवस्थित गर्नका लागि कार्यतालिका र कार्यान्वयनको अवस्था लिएर चाँडै मन्त्रालयमा उपस्थित हुन कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई निर्देशन दिनुभयो । फोहोर व्यवस्थापन र स्टललाई व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै उहाँले मन्त्रालय र बजार समितिबीच छलफल गरी तत्काल एउटा निष्कर्षमा जानेसमेत बताउनुभयो ।

मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताउँदै उहाँले किसानको पसिनाको उचित मूल्य प्राप्त गर्नुपर्ने वातावरण निर्माण गरिने बताउनुभयो । बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिको निम्ति मन्त्रालयले सोच बनाएको भन्दै मन्त्री अर्यालले उत्पादित वस्तुको बजारीकरण व्यवस्था गर्नु आजको आवश्यकता भएकाले किसानलाई बजारको व्यवस्थापन गर्न उत्पादित वस्तुको बजारको सुनिश्चित सरकारले गर्ने बताउनुभयो ।

उत्पादनमा बढावा तथा बजारीकरणका लागि उचित वातावरण बनाउन सरकारको तर्फबाट योजना ल्याउने मन्त्री अर्यालको भनाइ थियो । उहाँले बजार व्यवस्थापन गर्न केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र बालाजुमा माछा बजार खोल्न पहल शुरु गर्ने बताउनुभयो ।

“नेपालमा उत्पादित वस्तुको उत्पादन बढाउन र वस्तु प्रवद्र्धनमा चुनौती रहेको छ । अब बजार कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेतर्फ छिट्टै हामी निष्कर्ष निकाल्छौँ”, उहाँले भन्नुभयो ।