अख्तियारले छानबिन गर्दा निष्पक्षतालाई मूलमन्त्र बनाउनुपर्छः राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारजन्य विषयमा छानबिन गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्पक्षतालाई मूलमन्त्र बनाउनुपर्ने बताउनु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले भ्रष्टाचार नियन्त्रणमा सबै नागरिकको उत्तिकै महत्वपूर्ण भूमिका रहने बताउनुभयो । भ्रष्टाचार नियन्त्रणका लागि सबैको साझा प्रतिबद्धताले नै मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन सकिने बताउनु हुँदै उहाँले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण हुन सकेन भने राज्यका स्रोत दुरुपयोग भई राज्य प्रणालीलाई जर्जर बनाउने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
भ्रष्टाचारप्रति शुन्य सहनशीलता कायम गर्न सरकार तथा समग्र आमनागरिक त्यसमा लाग्न आवश्यक रहेको बताउनु हुँदै राष्ट्रपति भण्डारीले आयोगले छानविन गर्दा निष्पक्षताको मूल मन्त्रलाई कायम गर्नुपर्ने बताउनु भयो ।
त्यस्तै सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका सबै निकायका प्रतिनिधिहरु क्रियाशील भएमा मुलुकको भ्रष्टाचार अन्त्य गर्नमा सहज हुने बताउनुभयो । कानुनको नजरमा सबै बरावर भएकाले दोषीलाई कानुनअनुसार कडा कारवाही हुने उहाँले बताउनुभयो । आयोगले गरेको सफलता सकारात्मक भएको वताउनुहुँदै उहाँले निर्दोष मान्छेमाथि मुद्दा दायर भएमा त्यसले प्रतिकूल असर पार्ने बताउनु भयो ।
आयोगले निष्पक्ष र गहिरो ढङ्गले अध्ययन गरेर मुद्दा दायर गर्दा आयोगप्रति जनताको विश्वास थप बढ्ने उहाँले बताउनुभयो । भ्रष्टाचार नियन्त्रण समाजलाई स्वच्छ राख्न, विकास प्रक्रियालाई स्वस्थ बनाउनलाई आवश्यक रहेको बताउनुभयो ।
आफूलाई भ्रष्टाचारबाट मुक्त राख्ने संकल्प सबैले गर्नुपर्ने बताउनु हुँदै प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचार अन्त्यका लागि काम गरिरहेको दावी गर्नुभयो ।
भ्रष्टाचारमुक्त देश, सभ्य मानिस भएको देश, पारदर्शीता भएको देश भनेर नेपाललाई चिनाउन आवश्यक रहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “भ्रष्टाचार अन्त्य गर्न, आयोगलाई सक्षम बनाउनका लागि सरकारको तर्फबाट सबै प्रकारको सम्भव सहयोग हुनेछ ।”
त्यस्तै आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आयोगले छानबिन तथा कारवाहीमा कसैप्रति विभेद नगरिएको बताउनुभयो । राज्यलाई अग्रगमनमा लग्ने प्रयास धेरै भएपनि अझै सन्तोषजनक काम हुन नसकेको चर्चा गर्नुहुँदै प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रण गर्नमा आयोगि क्रियाशील रहने प्रतिबद्धता जनाउनुभयो ।
कानूनतः दण्डनीय काम गर्ने जोकोहीलाई कारवाही हुने बताउनु हुँदै प्रमुख आयुक्त रार्इले अख्तियाले सार्वजनिक जग्गा हडप्ने तथा राज्यलार्इ नोक्सान गर्ने खालका कार्यको निश्पक्ष छानबिन गरी दोषीलाइ कानुनी दायरामा ल्याइने बताउनुभयो ।
सो अवसरमा उत्कृष्ट अनुसन्धानकर्तालाई राष्ट्रपति भण्डारीले सम्मानित गर्नुभएको थियो । उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा दुई जना र उत्कृष्ट अख्तियर सम्मानबाट १९ जना सम्मानित हुनुभएको थियो ।