गुल्मीमा एक लाख भन्दा धेरैले राष्ट्रिय
परिचयपत्रका लागि विवरण दर्ता
गुल्मीमा एक लाख भन्दा धेरैले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् । यस जिल्लामा ११ वटा स्थानीयतहमा विवरण संकलन दर्ताको कार्य सकिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिनुभयो । ११ वटा स्थानीयतहका एक लाख १५ हजार ९ सय ५७ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् ।
यस जिल्लामा गत कार्तिक २३ गते देखि स्थानीयतमै पुगी विवरण दर्ताको कार्य सुरु गरिएको थियो । गुल्मीदरबार गाउँपालिकामा ११ हजार ९ सय ५, धुर्कोट गाउँपालिकामा १० हजार ५ सय ८०, छत्रकोट गाउँपालिकामा १० हजार ८ सय ४५, मदाने गाउँपालिकामा ९ हजार ७ सय ८० जनाले विवरण दर्ता गराएका छन् ।
मालिका गाउँपालिकामा १० हजार २ सय ४०, सत्यवती गाउँपालिकामा १० हजार ६ सय ६४, मुसिकोट नगरपालिकामा १४ हजार ६ सय ७८, रुरु क्षेत्र गाउँपालिकामा ९ हजार ५ सय ९९ र इस्मा गाउँपालिकामा ९ हजार ३ सय ५८ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरिएको हो ।
कालिगण्डकी गाउँपालिकामा ८ हजार ९ सय ३७ तथा चन्द्रकोट गाउँपालिकामा ९ हजार ३ सय ७१ जनाले विवरण दर्ता गराएका पन्थीले जानकारी दिनुभएको छ । ६० जना अप्रेटरले जिल्लाका विभिन्न स्थानीयतहमा पुगेर विवरण दर्ता कार्य गरिरहेका छन् । राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ताको कार्यले गाउँ–गाउँमा मात्र होईन यतिबेला जिल्ला प्रशासन कार्यालयमा समेत भिडभाड बढेको पन्थी बताउनुभयो ।
अहिले रेसुङ्गा नगरपालिकामा विवरण दर्ता संकलन कार्य भइरहेको छ । परिचयपत्रमा नागरिकका व्यैक्तिक विवरण र जैविक विवरण लिईन्छ । व्यैक्तिक विवरण अन्तर्गत नामथर, ठेगाना, जन्ममिति, बुवाआमा, हजुरजबुवा, हजुरआमा, पतिपत्नी तथा जैविक विवरणमा दश औंलाको छाप, आँखाको नानीको फोटो र डिजिटल हस्ताक्षर लिइन्छ । हाललाई नागरिकता प्राप्त व्यक्तिले मात्रै आवेदन दिन सक्छन् । परिचयपत्रको आधार नागरिकता प्रमाणपत्र भएकोले सक्कल नागरिकता अनिवार्य चाहिन्छ ।