१० लाख जनता ल्याएर सिंहदरबार र बालुवाटार घेर्ने प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले आज राजधानीमा प्रदर्शन सहित आमसभा गरेकोछ । सभामा बोल्दै सो समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली ठगी धन्दामा लागेको बताउँदै जनतालाई उनको भ्रममा नपर्न आग्रह गरेका छन् । ओलीले माधव नेपाल र आफु लगायतका धेरै नेताहरुलाई झुठ कुरा गरेको वताउँदै ओलीको प्रतिगामी कदम पछिको अवस्था सर्वोच्च अदालत र न्यायाधीशहरुले समेत हेरेको भन्दै सर्वोच्च अदालतले न्याय, संविधान र लोकतन्त्रको पक्षमा फैसला गर्ने वताए । उनले आजको जनप्रदर्शनलाई हेरेर अदालत र निर्वाचन आयोगले चाँडै निर्णय पनि लिनुपर्ने बताए ।
जनताको भावनाविपरित अदालत र आयोगले केही काम गरे भने दूर्भाग्य हुने वताउँदै प्रचण्डले शान्तिपूर्ण आन्दोलन विद्रोहमा रुपान्तरहण हुने अवस्था सिर्जना नगर्न चेतावनी दिएका छन् ।
उनले आफुहरु कानुनी राज्यको मान्यतामा दृढ रहेको भन्दै त्यसैका लागि नयाँ संविधान बनाइएको बताए ।
उनले केपीले भूमिसम्बन्धी आयोग बनाएर षड्यन्त्र गरेपनि त्यसले माखो नमार्ने दावी गरे ।
केपी ओलीले निर्वाचन आयोगलाई धम्की दिएको भन्दै उनले आयोगलाई नडराउनु आग्रह गरे । उनले आफूहरुसँग ७० प्रतिशत केन्द्रीय सदस्य रहेको बताउँदै आवश्यक परे आयोगमा लाइन लगाइदिने बताए ।


त्यस्तै अर्का अध्यक्ष माधवकुमार नेपालले ओलीको पाप कसैले धोइपखाली गर्न नसक्ने बताएका छन् । संविधानको हत्या गरेपछि ओली पशुपति धाउन थालेपनि उनलाई पशुपतिनाथले समेत रक्षा गर्न नसक्ने अध्यक्ष नेपालले बताए ।
मदन भण्डारीको नाम जप्ने ओली अहिले पशुपतिको मन्त्र जप्नतिर लागेको टिप्पणी गर्दै नेता नेपालले संविधान कुल्चने ओलीका पालामा ७ हजार १ सय ७० नेपाली चेली बलात्कृत भएको फेहरिस्थ पेस गरे ।
नेपालले केपी ओलीसँग केही हजार मानिस बाहेक केही नरहेको भन्दै ओली समूह निरास भैसकेको बताए ।
त्यस्तै वरिष्ठ नेता झलनाथ खनालले जनताको आवाज सुन्नुको विकल्प नरहेको भन्दै आगामी निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीको जमानत जफत हुने टिप्पणी गरे । संविधानको रक्षा, लोकतन्त्र, गणतन्त्र र स्थायित्वको रक्षाका लागि आफूहरु संघर्षमा रहेको उनले दावी गरे ।
नेता नारायणकाजी श्रेष्ठ, रघुजी पन्त, जनार्दन शर्मा, देवप्रसाद गुरुङ, रामचन्द्र झा, जीवनराम श्रेष्ठ, भानुभक्त जोशी, अमृता थापामगर, अन्जना विसन्खे, मोहमद महफुस अन्सारी, रामकुमारी झाँक्री, सन्तकुमार चौधरीलगायतले सम्बोधन गरेका थिए ।