राज्यविरुद्धको कसुरमा पक्राउ परेकी रामकुमारी रिहा
काठमाडौं । प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री प्रहरी हिरासतबाट रिहा भएकी छिन ।
महानगरीय अपराध महाशाखाको टोलीले राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै पक्राउ पूर्जी थमाएर आज विहान उनलाई संखुमलस्थित निवासबाटै पक्राउ गरेको थियो । मीनभवनस्थित महाशाखाको कार्यालयमा झण्डै साढे ५ घण्टा राखेर साँझ उनलाई रिहा गरिएको छ ।
रिहाइपछि पत्रकारहरुसँग कुरा गर्दै नेतृ झाँक्रीले आफू विना शर्त रिहा भएको जानकारी दिँदै लोकतन्त्र पक्षधरहरुको दबावमा आफू रिहा भएको बताइन् ।
प्रतिगमनविरुद्ध आन्दोलनलाई उत्कर्षमा पुर्याउन भूमिका खेलेका कारण आफूलाई दुव्यर्वहार गर्ने प्रयासस्वरुप पक्राउ गरिएको आरोप लगाएकी छिन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको थियो ।
पक्राउ पुर्जीमा राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार पक्राउ गरिएको उल्लेख थियो ।
केही दिनअघि गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे उनले गरेको टिप्पणीप्रति महिलाहरुले आपत्ति जनाउँदै कारवाहीको माग गरेका थिए ।
झाँक्रीको पक्राउको विरोधमा नेकपा दाहाल–नेपाल समूहका कार्यकर्ता प्रदर्शन गरेका थिए ।
झाँक्री पक्राउको विरोध गर्दै दाहाल– नेपाल समूहले राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिता भएको बताएको थियो ।
सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गरेको विज्ञप्ति भनेका छन्, ‘संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ ।’
लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन नसक्ने भन्दै श्रेष्ठले रामकुमारी पक्राउको घोर निन्दा तथा भत्सर्ना गरेका थिए । उनले झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग पनि गरेका थिए ।