विप्लव समूहसहितको रणनैतिक संयुक्त मोर्चा

काठमाडौं । नेकपा विप्लव समूहसहित साना चार दलले रणनैतिक संयुक्त मोर्चा घोषणा गरेका छन् । राजधानीमा आज एक कार्यक्रम गरेर मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले मोर्चा बनाउँदै १५ सदस्यीय केन्द्रीय कमिटी र अवधारणा समेत सार्वजनिक गरेका छन् ।
रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समितिमा सीपी गजुरेल, राम सिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश वान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नविन रिजाल छन् । तीन जना पछि थपिने बताइएको छ ।
मोर्चाको पहिलो बैठकले अध्यक्ष र सचिव चयन गर्ने र प्रदेश, जिल्ला र आवश्यकताअनुसार स्थानीय तहहरुमा समेत समिति गठन गरिने मोर्चाले जनाएको छ ।
मोर्चाले फागुन ६ गते बुटवल, १४ गते धनगढी र १८ गते इटहरीमा जनसभा गर्ने बताएको छ ।