काठमाडौंका १५ ठाउँमा ‘वाटर एटीएम’, एक रुपैयाँमा एक कप पानी

काठमाडौं । नेपाल सरकार खानेपानी मन्त्रालय, काठमाडौं महानगरपालिका र काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त प्रयासमा वाटर एटीएम संञ्चालनमा आएको छ । आज एक कार्यक्रमकाबीच खानेपानी मन्त्री मणिचन्द्र थापाले वाटर एटीएमको उद्घाटन गरेका छन् ।
पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भु भगवान पाउमा वाटर एटीएम सञ्ञ्चालनमा आएको छ । वाटर एटीएम जडान भएसंगै यस क्षेत्रमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध भएको छ । वाटर एटीएमबाट उपलब्ध हुने पानीका लागि उपभोक्ताले प्रति २ सय मिलिमिटर (एक कप) का लागि १ रुपैयाँ तिर्नुपर्नेछ ।
प्रति लिटर पानीको ५ रुपैयाँ तिर्नुपर्छ । यो वाटर एटीएमलाई ३ महिनासम्म सप्लार्यसले नै सञ्चालन गर्ने र ३ महिना बोर्डलाई हस्तान्तरण गरिने बताइएको छ । यस एटीएमबाट जाडोमा तातो र गर्मीमा चिसो पानी उपलब्ध हुने बताइएको छ ।
एटीएमबाट पानी लिनका लागि उपभोक्ताले एक रुपैयाँका सिक्का प्रयोग गर्नुपर्ने छ । काठमाण्डौ उपत्यका खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जीव बिक्रम रानाले ३ हप्ताभित्र विभिन्न १५ वटा स्थानमा यस्ता एटीएम जडान गरिने जानकारी दिएका छन् ।
काठमाडौंमा पिउने पानीको समस्या भईरहेका बेला सार्वजनिक स्थानमा राखिने वाटर एटीएमले आम सर्वसाधरणलाई सुलभ मूल्यमा स्वच्छ पानी पिउन सक्ने सुविधा दिने विश्वास लिइएको छ ।
एक हप्ता भित्रमा कलंकी, मालपोत, बानेश्वर, बंगलामुखी मन्दिर, कसुन्ती यातायात कार्यालय र शंखपार्क धुम्बराहीमा संचालन गर्ने तयारी भएको र ललितपुर र भक्तपुरका विभिन्न स्थानमा संचालनमा ल्याईने वाटर एटीएमको लागत २ करोड रुपैयाँ रहेको बताइएको छ ।