गुल्मीको रेसुंगा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ
गुल्मीको रेसुंगा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको छ ।बुधबार सदरमुकाम तम्घासको बालमन्दीरमा रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले प्रधानमन्त्री रोजगार कार्यक्रमको उदघाटन गर्नुभएको हो ।
त्यस अवसरमा मेयर भुसालले इमानदारीका साथ रोजगारमा खट्न निर्देशन दिनुभयो । समय–समयमा अनुगमन पनि गरिने भएकाले पूर्ण मेहनतका साथ आफुलाई दिएको जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले न्यूनतम रोजगार दिने सरकारको निर्णय अनुसार यो कार्यक्रमको शुभारम्भ गरिएको हो ।
अहिले रोजगार कार्यक्रमका लागि प्राप्त भएको रू १ करोड २४ लाख ६६ हजार रूपैयाँ उनीहरूको ज्यालामा मात्र खर्च गरिने प्रमुख प्रशासकिय अधिकृत मरासिनीले जानकारी दिनुभएको छ । नगरपालिकाको आन्तरिक बजेट रू ५ लाख बराबरको उनीहरूको लागि आवश्यक औजार खरिद गरिएको मरासिनीले जानकारी दिनुभयो । उनीहरूले एक सय दिनको राजगार पाउनेछन् । जसमा छनौट भएका २४१ जनाले एक सय दिन काम गरेबापत रू ५१ हजार ७ सय प्राप्त गर्ने छन् । ।
रेसुंगा नगरपालिकामा–१४ वटा वडाहरू रहेका छन् । यस आर्थिक वर्षमा प्रधानमन्त्री रोजगारका लागि ८ सय ६२ जनाले निवेदन दिएका थिए । जसमध्ये यस आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २४१ जना छनौट भएका रोजगार संयोजक सन्तोष पन्थले जानकारी दिनुभयो । उनिहरूलाई सार्वजनिक विकास निर्माणको क्षेत्रमा खटाइएको छ ।
उनीहरूले ग्रामीण सडकहरूको मर्मत सम्भार, नाली व्यवस्थापन, गोरेटो, घोडेटो बाटो निर्माण, पदमार्ग निर्माण, खानेपानीको मुहान संरक्षण, कुलो मर्मत, चौपारी निर्माण, फिल्ड निर्माण लगायतमा कार्य गर्ने पन्थले जानकारी दिनुभयो । यस वर्ष कोभिड–१९ का कारण यो कार्यक्रम ढिला हुन गएको पन्थले बताउनुभयो ।
औपचारिक कार्यक्रममा उपमेयर सीता भण्डारी, वडाअध्यक्षहरू, कार्यपालिका सदस्यहरू, लगायतको उल्लेख्य सहभागीता रहेको थियोे । कार्यक्रमको सञ्चालन रेसुंगा नगरपालिकाका सुचना अधिकारी शंकर गौतमले गर्नुभएको थियो । सोही अवसरमा उनीहरूलाई आवश्यक औजारहरू समेत वितरण गरिएको थियोे ।