प्रतिनिधिसभा पुनस्र्थापनापछि प्रचण्डले भने – प्रतिगमनकारीसँग सहकार्य हुन्न
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गरेपछि नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल हर्षित भएका छन् । भरतपुरस्थित चितवन गार्डेन रिसोर्टमा रहेका उनीहरुले एकअर्कालाई अंकमाल गर्दै खुशी साटासाटा गरेका छन ।
प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार चितवनमा हुने विरोध सभालाई सम्बोधन गर्न त्यहाँ पुगेका उनीहरुले बुधबारको सभा विजय जुलुसमा परिणत हुने बताएका छन् ।
प्रचण्डले अब सहमतिबाटै अगाडि बढ्ने बताएका छन् । उनले प्रधानमन्त्री ओलीतर्फ संकेत गर्दै प्रतिगमनकारीसँग तत्काल सहकार्य नहुने बताएका छन् । द्वीअर्थी कुरा गर्ने प्रचण्डले ओेलीसँग सहकार्य हुन सक्ने पनि संकेत गरेका छन् । उनले तत्काल भन्ने शव्द प्रयोग गरेर भविष्यमा सहकार्य गर्न सकिने बाटो खुला राखेका छन् ।
आजै एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री अोलीे प्रतिनिधिसभा पुनस्र्थापना भए थप अस्थिरता आउने र प्रधानमन्त्री बनाइदिनु पर्यो भन्दै प्रचण्ड–माधव नेपालहरु विभिन्न सांसदकोमा धाउने र आफूकहाँ पनि आउन सक्ने बताएका थिए ।
दाहालले सर्वोच्चको आदेश आएपछि नेपाली जनताले आफैं लेखेको संविधानको जित भएको बताएका छन् । उनले अदालतप्रतिको जनआस्था सुदृढ भएको पनि बताएका छन् ।