नेकपा मिलाउन बामदेवको दौडधुप

काठमाडौं । संसद पुनस्र्थापना पछि बिभाजित नेकपालाई एकजुट बनाएर नयाँ सरकार गठन गर्नुपर्नेमा जोड दिदंै उपाध्यक्ष बामदेव गौतमको दौडधुप निकै चलेको छ । प्रचण्ड र प्रधानमन्त्री ओलीलाई मिलाएर नेकपालाई एकजुट बनाउने अभियानमा उनी सक्रिय भएर लागेका छन् । यसैगरी नेकपाका दोश्रो तहका नेताहरु पनि पार्टीलाई फुट्न दिन नहुने भन्दै सक्रिय रुपमा लागेका छन् । तर पहिलो पुस्ताका नेताहरु भने तत्काल एकता संभव नरहेको बताउँदै हिंडेका छन् । सकेसम्म नेकपाकै नेतृत्वमा सरकार बन्नुपर्ने र नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्न नदिने अडानमा उनीहरु छन् । तर परिणाम देखिने गरी अहिलेसम्म कुनै उपलव्धी हात पर्न सकिइरहेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गएको ५ पुसमा प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित हुन पुगेको थियो । सर्वोच्च अदालतले सरकारको कदम अंसवैधानिक ठहर गरेपछि राजनीतिक कोर्ष अहिले नयाँ ढंगले अगाडि बढ्न खोज्दै छ । सर्वोच्च अदालतको फैसलापछि नेकपाका दुई समूहमा बिभाजन भएकाहरुलाई एकै ठाउँमा ल्याउने प्रयास र प्रयत्नहरु पनि सुरु भएका छन् ।
नेकपामा आएको बिभाजनपछि दुवै समुहमा नलागि छुट्टै समुह बनाएर एकता अभियान घोषणा गरेका उपाध्यक्ष गौतम संसद पुनस्र्थापना पछि अहिले निकै सक्रिय देखिएका छन् । गत बिहिवार पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवास खुमलटारमा गएर बार्ता गरेका नेता गौतम शुक्रवार प्रधानमन्त्री ओलीसँग संवाद गर्न बालुवाटार पुगेका थिए । खुमलटारमा प्रचण्डसँग जस्तो प्रस्ताव गरेको हो त्यस्तै प्रस्ताव उनले प्रधानमन्त्री ओलीसँग पनि राखेको बताइएको छ ।
गौतमले प्रधानमन्त्री ओलीलाई सम्मानपुर्वक बिदाई गरेर नेकपाकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने प्रस्ताव अगाडि सार्दै आएका छन् । तर, नेकपा एकता भइहाल्ने अवस्था तत्काल नहुने दुबै समूहका नेताहरुले सार्वजनिक रुपमा बताइसकेका छन् । नेकपा ओली समूहका नेता तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अहिले नै नेकपा एकजुट हुनसक्ने त्यस्तो अवस्था नरहेको बताइसकेका छन् ।
अर्कोतिर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सार्वजनिक रुपमै पार्टी एक हुने अवस्था नरहेको बताइुसकेका छन । तर, दोस्रो तहका नेताहरु भने दुबै समूहलाई एक ठाउँमा ल्याउने प्रयासमा जुटेका छन् ।
प्रतिनिधिसभा पुनस्र्थापना पछि नेताहरु घनश्याम भुसाल, वर्षमान पुन, योगेश भट्टराई, विष्णु पौडेल, शंकर पोखरेललगायतका नेताहरु छलफलमा जुटेका छन् । उनीहरुले पहिलो पुस्ताका नेताहरुलाई व्यवस्थापन गरेर पार्टी एकीकरण गर्ने र पुनः नेकपाकै नेतृत्वमा सरकार गठन गर्ने गरी छलफल चलाइरहेको बताइन्छ ।
यसका लागि प्रचण्ड–माधव समूहबाट वर्षमान पुन र ओली समूहबाट विष्णु पौडेलले अगुवाइ गरेको बताइएको छ । प्रचण्ड–माधव समूहले ओलीको बहिर्गमन खोजेको छ भने ओली समूहले अबको सरकारको नेतृत्व दोस्रो पुस्ताबाट हुनुपर्ने प्रस्ताव अघि सारेको छ । तर प्रधानमन्त्री ओलीको गतिबिधि, व्यवहार र क्रियाकलापले पनि तत्काल एकता हुन दिने संभावना देखिदैन ।
शुक्रवार प्रधानमन्त्री ओलीले यसअघि नेकपाका प्रमुख सचेतक रहेका देवप्रसाद गुरुङलाई हटाएर आफु निकटका नेता तथा खोटाङबाट निर्वाचित सांसद बिशाल भट्टराईलाई नियुक्त गरेका छन् । संसदीय दलमा कसैसँग परामर्श नगरी प्रधानमन्त्री ओलीको एकांकी र गुटगत प्रबृत्ति हावी हुँदै गइरहेकोले पनि तत्काल नेकपा एक भइहाल्ने संभावना नरहेको बताइन्छ ।