नेकपा र सूर्य चिह्न हामीले पाई सक्यौँ, घोषणा हुन बाँकी छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य आफूहरुले पाइसकेको तर घोषणा हुन मात्र बाँकी रहेको दावी गर्नु भएको छ ।
राजधानीमा सोमबार आयोजित पेशागत महासंघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानका प्रावधान, राजनीतिक दलसम्बन्धी व्यवस्था, आयोगसँग पटक–पटक भएका छलफल र जनभावनाका आधारमा पार्टीको आधिकारिकता र निर्वाचन चिन्ह सूर्य आफूहरुले नै पाउने बताएउनु भयो।
संविधान र कानूनका प्रावधानका आधारमा सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने आफूले बताएको सत्य सावित भएको बताउँदै अब पार्टीको आधिकारिता र सूर्य चिन्ह पनि आफूहरुले नै पाउनु बताउनु भयो ।
प्रचण्डले ओलीतर्फ लागेका नेताहरुलाई बेलैमा गल्ती सच्याएर आफू नेतृत्वको पार्टीमा आउन आग्रह गर्दै भन्नुभयो ‘तपाईंहरुलाई लठ्ठाइएको छ, निद्रामा हुनुहुन्छ बेलैमा ब्युँझिनुहोस्, आयोगले अब छिट्टै निर्णय गर्दैछ, हामीले पाई नै सक्यौँ, घोषणा हुनमात्र बाँकी हो ।’