१७ हजार मान्छे मार्ने र टाउको काट्नेहरु प्रधानमन्त्री हुने, थारु चाहिँ जेलमा बस्नुपर्ने ? : महतो
महेन्द्रनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले रेशम चौधरी र लक्ष्मण थारुलाई टीकापुर घटनामा षड्यन्त्रमूलक ढंगले फसाइएकोे आरोप लगाएका छन्।
सोमबार कञ्चनपुरको महेन्द्रनगरमा जसपाद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतोले सरकारले षड्यन्त्रपूर्वक टीकापुर हत्याकाण्ड गराएको आरोप लगाएका छन्।
उत्पीडित जनताले हाम्रा पनि अधिकार, पहिचान संविधानमा राख्देऊभन्दा सरकार गोली हानेर हत्या गरेको र त्यसपछि संविधान जारी गरेको बताए ।
आदिवासी, जनजाति, दलित, मुस्लिम, थारु, मधेसीले आफ्नो अधिकार तथा पहिचानको माग गर्दा हत्या, हिंसा हुने गरेको बताएका छन् । अधिकार, पहिचानको लागि आन्दोलन गर्नु अपराध हो भने जनयुद्धका नाममा १७ हजार मान्छे मार्ने माओवादी आन्दोलनको नेता पुष्पकमल दाहाल प्रचण्ड र झापा आन्दोलनमा टाउको काट्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि कारबाही गर्नुपर्ने उनको माग छ । उनीहरु चाहिँ प्रधानमन्त्री हुनुपर्ने थारुहरु चाहिँ जेल बस्नुपर्ने ? उनले प्रश्न गरे ।
‘‘रेशम चौधरीलाई आजीवन काराबासको सजाय दिने हो भने १७ हजार वर्ष जेल सजाय हुन्छ प्रचण्डलाई ? एक देशमा दुई कानून हुन्छ र ?’ उनले थपे ।
अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली सामन्तका नाममा टाउको काटेर हिँडेको भन्दै उनलाई पनि कारबाही हुनुपर्ने बताए ।
एकीकरणपछि तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल चार जात, छत्तीस वर्णको साझा फूलबारी हो भन्ने सन्देश दिएको भए पनि त्यसपछिका कुनै पनि शासकले त्यसको अनुशरण नगरेको नेता महतोले बताए ।