अविश्वास प्रस्ताव दर्ता भएपनि वर्तमान सरकार ढल्दैन : अर्थमन्त्री पौडेल

काठमाडौं । नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा संसदीय दल र प्रतिनिधिसभा दुवै ठाउँमा ओली पक्ष बहुमतमा रहेको दावी गर्दै अबको दुई वर्ष पनि यही सरकारले निरन्तरता पाउने दावी गर्नु भएको छ ।
गृहजिल्ला रुपन्देहीको बुटवलमा बिहीबार पत्रकारसँग कुरा गर्दै मन्त्री पौडेलले ओली बहुमतमा रहेका कारण प्रतिनिधिसभामा अविश्वास प्रस्ताव दर्ता हुँदैमा वर्तमान सरकार नढल्ने दाबी गर्नुभएको छ । ओलीलार्इ प्रधानमन्त्रीबाट हटाउने सबै प्रकारका षड्यन्त्रहरु असफल हुने दाबी गर्नुहुँदै पौडेलले बहुसंख्यक सांसद, संसदीय दल र प्रतिनिधिसभामा पनि ओली पक्ष बहुमतमा भएको बताउनुभयो । अहिलेको वर्तमान सरकारलाई हटाउन खोज्नेहरुको दाबी निरर्थक हुने उहाँले बताउनुभयो ।
नेकपाको महासचिव समेत रहनुभएका मन्त्री पौडेलले आफ्नै दलको झण्डै दुई तिहाइको सरकार ढालेर कम्युनिस्ट इतरको सरकार बनाउन प्रचण्ड–नेपाल समूह लागिरहेको आरोप लगाउँदै त्यो प्रयास निरर्थक हुने जिकिर गर्नुभयो ।
‘२०५४ सालमा माधवकुमार नेपालका कारण एमाले फुटेको भन्दै अहिले पनि पार्टी फुटाउन उहाँ नै लागिपरेको पौडेलको आरोप छ ।