ओलीले गर्न सक्ने निर्णय मान्य नहुने संसद सचिवालयलाई प्रचण्डको पत्र
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसद सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै निश्कासन गरिसकेकाले संसदीय दलको नेताका नाममा उनले गर्ने काम कारबाहीलाई मान्यता नदिन आग्रह गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद सचिवालयका महासचिवलाई पत्र पठाएर ओली पार्टी सदस्य नै नरहेकाले संसदीय दलको नेताका रुपमा रहन नसक्ने भन्दै पार्टी संसदीय दल र सम्बन्धित सबैको ध्यान आकर्षित गराउनु भएको छ ।
पार्टी केन्द्रीय कमिटीमा आफूहरुको बहुमत रहेको भन्दै प्रचण्डले सचिवालयलाई लेखेका पत्रमा भन्नु भएको छ ‘केन्द्रीय कमिटीको बैठकले सदस्यताबाट समेत निश्कासित व्यक्तिले गरेको कुनै पनि निर्देशन र निर्णय बैध नठहरिने वस्तुतथ्य सम्बन्धित सबैलाई जानकारी गराउने फागुन १९ गते बसेको केन्द्रीय कमिटीले निर्णय गरेको छ ।’
संसदीय दलको नेताका नाममा प्रधानमन्त्री ओली वा अरु कसैले गरेका वा गर्ने पत्राचार वा कुनै पनि कामकारबाही अनधिकृत भई मान्य नहुने प्रचण्डले उल्लेख गर्नु भएको छ ।
संसदीय दलमा भएको परिमार्जनबारे संसद सचिवालयलाई जानकारी दिन प्रचण्ड–नेपाल पक्षका नेताहरु देव गुरुङ, सुरेन्द्र पाण्डे, पम्फा भुसाल, दिनानाथ शर्मा र जीवनराम श्रेष्ठ सिंहदरबार पुग्नु भएको थियो ।
केपी ओलीलाई पार्टीले संसदीय दलको नेता, पार्टी अध्यक्ष र साधारण सदस्यबाट समेत हटाइसकेको भन्दै गुरुङले पार्टीकै नीति अनुसार संसदीय दल चल्ने विधि विधान भएकोले त्यही अनुसार संसदीय दलको बारेमा पार्टीले गरेको निर्णयको सन्दर्भमा संसदको ध्यानाकर्षण गरायएको बताउनु भएको छ ।
प्रचण्ड–नेपाल पक्षले शुक्रबार विहानका लागि संसदीय दलको बैठक पनि आह्वान गरेको बताइएको छ । सिंहदरबारमा बस्ने उक्त बैठकबाट औपचारिक रुपमा केही निर्णय गर्ने तयारी रहेको बताइएको छ ।