मधेस ओलीलाई पस्न नदिएपनि पानी चाहिँ पसाइदिन्छ : प्रधानमन्त्री ओली
सुनकोशी–मरिन डाइभर्सन आयोजनाको शिलान्यास
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेश पस्न नदिए पनि सिँचाइका लागि पानी पसाएरै छाड्ने बताउनुभएको छ । सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्ययीय आयोजनाको शिलन्यास कार्यक्रममा विहिबार सिन्धुलीमा आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले आफूलाई मधेस विरोधीको आरोप लगाए पनि आफूले मधेसमा काम गरेर देखाइरहेको बताउनु भयो ।
देश विकासको गतिमा अगाडि बढेकाले अव कसैले रोक्न नसक्ने बताउँदै उहाँले भन्नुभयो –“देश अब अगाडि बढ्यो–बढ्यो ढुक्क हुनुहोस् । हाम्रो उद्देश्य समृद्ध नेपाल र सुखी नेपाली रहेकाले एउटा ढल्दा हजार बनेर निस्किन्छौं ।”
सबै नेपाली जनतालाई कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने वताउनु हुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो –“अझै केही समय कोभिड १९ को असर रहने हुनाले सतर्कता अपनाउनु पर्छ । अझै शतप्रतिशत भरपर्दो खोप आइनसकेकाले सजगता आवश्यक रहेको छ ।”
देशभरबाट फुसको छाना विस्थापित गरी जस्ताको छाना लगाउने काम भइरहेको वताउँदै प्रधानमन्त्री ओलीले घरवासविहिनका लागि घरबास निर्माण गरी वितरण भइरहेको बताउनुभयो । नेपाल आधुनिक नेपालतर्फ उन्मुख भएको चर्चा गर्नुहुँदै शहरलाई आधुनिकीकरण गर्ने काम भइरहेको पनि बताउनु भएको छ ।
सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्ययीय आयोजनाको मुख्य दुई वटा देखिने उद्देश्य रहेपनि त्यसले धेरै प्रकारका फाइदा दिने बताउनुभयो । प्रधानमन्त्री ओलीले १ लाख ८५ हजार विघासम्म सिंचाई पु¥याउने लक्ष्य आयोजनाको रहेको बताउनुभयो । अर्को, ३१ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । सुनकोसीको पानी बोकेर टनेल मरिनमा पुग्छ, त्यसको प्रत्यक्ष लाभ यहाँका किसान दाजुभाइ दिदीवहिनीहरुलाई हुने उहाँले बताउनुभयो ।
आयोजनाको मितिभन्दा अगाडि सम्पन्न गर्न प्रधानमन्त्री ओलीले निर्माण कम्पनीलाई निर्देशन पनि दिनुभएको छ । एक दिनको ढिलाले पनि ठूलो क्षति हुन्छ उहाँले भन्नुभयो, “ढल निर्माण, सिंचाईका लागि नहर, ट्रान्समिसन लाइन, बाँध, विद्युत उत्पादन सबै सँगसँगै काम सम्पन्न हुनुपर्छ ।” आयोजनाको कामको जिम्मेवारी पाएका सबैलाई मेहनत र इमान्दारितासाथ काम गर्न उहाँले निर्देश गर्नुभयो ।
त्यस्तै शहरी विकास मन्त्री प्रभु साहले २ नम्बर प्रदेश मानव विकास सुचकाङ्कमा पछाडि रहेपनि आयोजना निर्माण भएपछि त्यसमा बृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । आयोजना निर्माणले सिन्धुली जिल्लाले प्रत्यक्ष लाभ लिएपनि प्रदेश २ को जिल्ला पनि लाभान्वित हुने बताउनुभयो ।
सरकारले स्मार्ट सिटीको नयाँ अभ्यास गर्नेगरी काम गरिरहेको बताउनुहुँदै मन्त्री साहले नेपाललाई आत्मनिर्भर बनाई देशको शीर उँचो राख्नेगरी काम सरकारले गरिरहेको दावी गर्नुभयो ।
त्यसतै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आयोजनाले मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो । यो आयोजना केवल आयोजनाका लागि मात्र होइन, मुलुकको समृद्धिका निम्ति कोसेढुङ्गा सावित हुन्छ भन्नुभयो । यसको प्रतिफल बागमति र प्रदेश २ का जिल्लाका कृषकहरुलाई बढी हुने उहाँले बताउनुभयो ।
त्यसतै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आयोजना सम्पन्न भएपछि भौतिक पूर्वाधारको विकास सँगै अन्य आर्थिक गतिविधि पनि बढ्ने बताउनुभयो ।
प्रदेश २ का पाँच जिल्ला बारा, रौतहट, महोत्तरी, सर्लाही र धनुषाका जिल्लामा सिंचाईको व्यवस्था भई लाखौं किसान लाभान्विन हुने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा आयोजनाका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले रामेछाप र सिन्धुलीको सिमाना खुर्कोटमा निर्माण हुने आयोजनाले यस क्षेत्रको विकासमा ठूलो योगदान दिने बताउनुभयो ।
आयोजनाबाट वार्षिक १० अर्व रुपियाँ आम्दानी हुने जानकारी दिँदै उहाँले आयोजनाबाट ३१ मेगावाट विजुली उत्पादन भई विद्युत क्षेत्रमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सरकारले आफ्नै लगानीमा आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ । भेरी–बबई डाइभर्सन टनेल निर्माण गर्ने कम्पनीले सो आयोजना सम्पन्न गर्ने जिम्मा पाएको छ । १ लाख २२ हजार हेक्टर क्षेत्रमा भरपर्दो सिंचाई पु¥याउने लक्ष्य आयोजनाले लिएको छ । आ।व। २०८२÷०८३ सम्म आयोजना निर्माण गरिसक्ने समयसीमा तय गरिएको छ ।
दुई वर्षभन्दा कम समयमा नै सुरुङ निर्माण गरिसक्ने योजना रहेको छ । सुनकोशी मरिण आयोजनाको निर्माण अवधि पाँच वर्ष रहेको छ । आयोजना निर्माण सुरु गर्न सिन्धुली जिल्लातर्फ प्रभावित क्षेत्रमा जग्गा अधिग्रहण, मुआब्जा वितरणलगायतका प्राविधिक सबै काम सकिएको छ । २० हेक्टर जमिन अधिग्रहण गरिएको छ भने १५३ जना किसानलाई मुआब्जा वितरण गरिएको छ ।
सुनकोसी नदीमा १२ मिटर उचाइको बाँध निर्माण गरी सुनकोशी नदीको पानी १३।१ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२, कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय ग्रिडअन्तर्गत ढल्केबर सब–स्टेसनमा जोडिने आयोजनाले जनाएको छ ।
आर्थिक वर्ष ०७७÷७८ का लागि सरकारले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ ।