विप्लवलाई राजनीतिको मूल धारमा ल्याउनु सरकारको सफलता

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुुरुङले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) लाई शान्तिपूर्ण राजनीतिको मूल धारमा ल्याउनु सरकारको ठूलो राजनीतिक सफलता रहेको दावी गर्नु भएको छ ।
बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणको २३ औं वार्षिकोत्सवको कार्यक्रममा बोल्दै प्रवक्ता गुरुङले अब मुलुक पूर्ण रुपमा लगानीमैत्री हुनुका साथै समृद्ध नेपाल, सुुखी नेपालीको राष्ट्रिय संकल्पले सार्थकता पाउने बताउनु भयो ।
हिंसात्मक गतिविधिमा संलग्न सो समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने सहमति गरेसँगै नेपाललाई शान्तिपूर्ण र समृद्ध देश बनाउने अभियानले तीव्रता पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । हिंसा छोडेर विप्लव समूूह शान्तिपूर्ण राजनीतिमा आएसँगै मुलुकलाई समृद्ध बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको संकल्प पूरा हुने काममा तीव्रता आउने कुरामा उहाँले विश्वास व्यक्त गर्नुभयो ।


शान्तिपूर्ण राजनीतिमा ल्याएसँगै बन्दुक बोकेर राजनीतिक गर्ने जंगलीयुुगको अन्त्य भएको घोषणा समेत मन्त्री गुरुङले गर्नुभयो । अब मुलुकमा बाह्य लगानी भित्र्याउन अनुकूल वातावरण बनेको उल्लेख गर्दै उहाँले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय निकायलाई आह्वान गर्नुभयो ।
मन्त्री गुरुङले दूरसञ्चार क्षेत्रको विकासका लागि पूर्वाधार कम्पनी निर्माणको कामलाई तत्काल अघि बढाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह गर्नुभयो । दूरसञ्चार सेवालाई सुलभ, गुुणस्तरीय, भरपर्दो र विश्वासिलो बनाउन जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो । त्यसका लागि इमान्दारिताकासाथ काम गर्न दूर सञ्चार प्रदायक संघ, संस्थाहरुलाई उहाँले सचेत गराउनुभयो ।
सरकारले सुशासन, समृद्धि र विकासका लागि ‘डिजिटल नेपाल फ्रेमवर्क’ को अवधारणा अघि सारेको बताउँनुहुँदै मन्त्री गुरुङले त्यस अभियानलाई सार्थक बनाउने गरी योजना ल्याउन प्राधिकरणले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मुलुकलाई सूचना प्रविधिमैत्री बनाउने काममा प्राधिकरणको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार ऐनलाई समसामयिक बनाउन मन्त्री गुरुङको ध्यानाकर्षण गराउनुभएको थियो । उक्त कार्यक्रममा मन्त्री गुरुङले प्राधिकरणका उपनिर्देशक सन्दीप अधिकारीलाई ‘उत्कृष्ट कर्मचारी पुरस्कार’बाट सम्मान गर्नुभयो ।
आज विहान मात्रै सरकार र विप्लव समुहबीच ३ बुँदे सहमति भएको थियो । उक्त सहमतिमा नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक बिषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपुर्ण रुपमा सन्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाईएको विप्लव समूह माथीको प्रतिबन्ध हटाउने, सम्पुर्ण बन्दीको रिहाई र मुद्धा खारेज लगायतका बिषयहरु रहेका छन् ।
सहमतिका बिषयमा भोलि विशेष कार्यक्रमको आयोजना गरेर सार्वजनिक गर्ने बताईएको छ । उक्त समारोहलाई नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने बताइएको छ ।