ओलीलाई नेताबाट हटाएको हिजो संसद सचिवालयलाई जानकारी आज निर्णय
काठमाडौं । नेकपाका (प्रचण्ड–नेपाल समूह)ले संसदीय दलको नेताबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई हटाएको छ ।
आज सिंहदरबारमा बसेको सो समूहको संसदीय दलको बैठकले ओलीलाई नेताबाट हटाई सो पदमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।
सो समूहका वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा बसेको वैठकमा प्रचण्डलाई नेता बनाउने प्रस्तावक माधवकुमार नेपाल र समर्थक पम्फा भुसाल रहेका थिए । कानून व्यवसायीहरुको सुझाव अनुसार खनालले संसदीय दलका सदस्यहरुमध्ये ज्येष्ठताका आधारमा आजको बैठकको अध्यक्षता गरेको बताइएको छ ।
प्रतिनिधि सभा विघटन भएपछि विभाजित भएको नेकपाको प्रचण्ड–नेपाल पक्षले त्यसलगत्तै ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई नेता चयन रेको थियो । त्यतिवेला प्रतिनिधि सभा नरहेको हुँदा अहिले थप विधिवत रुपमा हटाउने र नयाँ चयन गर्ने काम गरिएको एक सांसदले बताएका छन् । सो समूहले आज ओलीलाई नेताबाट हटाएर प्रचण्डलाई चयन गरेपनि संसद सचिवालयलाई भने हिजै जानकारी पत्र बुझाएको थियो ।
उता अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षका नेता तथा तथा संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले संसद सचिवालयमा पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट दर्ता भएको पत्रको औचित्य नरहेको बताएका छन् ।
एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्य सचेतक भट्टराईले संसदीय दलका तर्फबाट दलको विधान बमोजिम विधिवत् रूपमा निर्वाचित संसदीय दलका नेता तथा पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओली रहेकाले अरु पत्र र दाबी गैरकानुनी रहेको स्पष्ट गरेका छन् ।
प्रचण्डको पत्र बिहीबार संसद सचिवालयमा दर्ता गर्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, उपेनता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीलाई कारबाही गरिएको बताएका थिए ।
प्रेस विज्ञप्तिमा मुख्य सचेतक भट्टराईले भनेका छन्, ‘नेपालको संविधान तथा प्रचलित कानूनबमोजिम बाहेक कोही कसैले कुनै गैरसंवैधानिक र गैरकानुनी निर्णय गरिएको भनी गरेको पत्राचारको कुनै कानुनी आधार, औचित्य र प्रभाव हुन सक्दैन ।’ उनले निर्वाचन आयोगले गत माघ ११ गते पार्टीको बैठकले मान्यता प्राप्त गर्न अध्यक्षको परामर्शमा महासचिवले बैठक आह्वान गरेको हुनुपर्ने र पार्टीको आधिकारिक पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुनुपर्ने उल्लेख भएकाले त्यसविपरीतका कुनै पनि बैठक र पत्राचारले मान्यता नपाउने दावी गरेका छन् । दलको विधान बमोजिम संसदीय दलको नेता प्रधानमन्त्री केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, मुख्य सचेतक भट्टराई र सचेतक शान्ता चौधरीबाहेक अरु पदाधिकारी नरहेको भन्दै संसद सचिवालयलाई कुनै भ्रममा नपर्न भट्टराईले ध्यानाकर्षण समेत गराएका छन् ।