कांग्रेसले अविश्वास प्रस्तावबारे उचित समयमा निर्णय गर्ने
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीविरुद्ध दर्ता हुने अविश्वास प्रस्तावको विषयमा उचित समय आएपछि निर्णय लिने बताएको छ ।
शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले अविश्वास प्रस्तावबारे अहिले निर्णय गर्न हतार हुने निश्कर्ष निकालेको बैठक पछि पत्रकारलाई प्रतिक्रिया दिँदै प्रमुख सचेतक बालकृष्ण खाँडले बताएका छन् ।
कांग्रेसले उचित समयमा उचित निर्णय लिने वताउँदै नेता खाँडले आगामी आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपाका सांसदहरुको भूमिकाको विश्लेषण गरेर मात्रै कांग्रेसले निर्णय गर्ने बताएका छन् ।
‘बैठकले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधानवाद र लोकतन्त्रको विजय भएको निष्कर्ष निकालेको नेता खाँडले बताएका छन् ।
त्यसैगरी कोभिड(१९ को खोप सबैलाई दिलाउने गरी बन्दोबस्त मिलाउन र कोभिडको समयदेखि बन्द भएका सीमा नाकाहरु स्वास्थ्य सर्तकताको मापदण्ड अपनाएर अबिलम्ब सञ्चालनमा ल्याउन सरकारलाई आग्रह गरेको छ ।
शुक्रबारको बैठकमा २९ जना सांसदले आफ्नो धारणा राखेको बताइएको छ ।