नेपाल शान्तिपूर्ण युगमा प्रवेश : प्रधानमन्त्री ओली, सहमतिको अक्षरश पालना गछौं : विप्लव
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेपालले शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभएको छ । सशस्त्र युद्धमा रहेको नेकपा (विप्लव समूह) तीनबुँदे सहमति गर्दै शान्तिपूर्ण राजनीतिमा आएकाले मुलुकबाट अब हिंसाको अन्त्य भएको बताउनु भयो ।
सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमति पत्रमा हस्ताक्षर गर्न राष्ट्रिय सभागृहमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘नेपाल शान्तिको अन्तिम किस्ता पनि पूरा गरी शान्तिपूर्ण युगमा प्रवेश गरेको छ, अब नेपालमा हिंसात्मक गतिविधि छैन ।’
नेपाल र नेपाली जनताले शान्ति खोजेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सामाजिक न्याय र समानता, अधिकारसम्म पुग्ने अवसरको प्राप्ती, लोकतन्त्रको रक्षा र शान्ति चाहेको चर्चा गर्नुभयो ।
‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई स्थापित गर्न शान्तिपूर्ण वातावरणको आवश्यकता पर्नेमा जोड दिनुहुँदै प्रधानमन्त्री ओलीले महासचिव चन्दले ऐतिहासिक जिम्मेवारी वहन गर्नुभएको भन्दै सरकार र पार्टीको तर्फबाट धन्यवाद समेत व्यक्त गर्नुभयो । उहाँले विप्लवलाई शान्तिपूर्ण राजनीतिमा पौडिन सफलताका लागि शुभकामना पनि दिनुभयो । विप्लवसँगको सहमति रातारात गरेको नभई लामो समयपछिको उपलब्धिको परिणाम भएको पनि ओलीले बताउनुभएको छ ।
सहमति कार्यान्वयनको चरणमा कुनै समस्या आए वार्ताद्वारा सहमति खोजिने प्रष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यो सहमतिबाट नेपाल अब नयाँ युगमा प्रवेश गरेको छ ।” यसअघि सिके राउतसँग पनि यसैगरी वार्ताबाट सहमति गरी शान्तिको मूलधारमा ल्याएको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभयो ।
आजको उपलब्धिले विश्वकै कम्युनिष्ट आन्दोलनलाई नयाँ सन्देश दिएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले असल मनसायका साथ अगाडि बढ्दा सफलता प्राप्त हुन्छ भन्ने कुराको दृष्टान्त बन्न आफूहरु सफल भएको दावी पनि गर्नुभयो ।
प्रचण्ड–माधव पक्षप्रति टिप्पणी गर्नुहुँदै ओलीले भन्नुभयो, “उहाँहरुको कार्यशैली देखेर मलाई अचम्म लाग्छ, आफ्नो दलको प्रधानमन्त्रीलाई किस्तीमा राखेर अरु दललाई दिन हिँड्नुभएको छ ।” केही मानिसले कम्युनिष्ट आन्दोलनलाई बदनाम गर्न खोजे पनि आफूहरुले त्यसो हुन कदापि नदिने बताउनुभयो । आफू नेतृत्वको वर्तमान सरकार नै सफल सरकार भएको दाबी उहाँले गर्नुभयो ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारसँग भएको सहमति अक्षरशः पालना गर्ने बताउनुभएको छ । उहाँले सरकार र आफ्नो पार्टीबीच भएको सहमति कुनै एक पार्टी र सरकारसँग मात्र नजोडिएको बताउनुभएको छ ।
उहाँले आफूहरुले गरेको सहमतिमा देशको विकास र समृद्धिको सपना लुकेको बताउनुभयो । ‘यो सहमति केवल सरकार र नेपाल कम्युनिष्ट पार्टीको मात्र होइन, यो सहमतिभित्र नेपाल देशलाई सवल, समृद्ध, स्वाभिमानी बनाउने सपना लुकेको उहाँले बताउनुभयो ।
कम्युनिष्टहरु भनेका विद्रोही मात्र नभएर शान्तिका दुत पनि भएको उहाँले बताउनुभयो । सरकारसँग भएको तीनबुँदे सहमतिमा आफ्नो पार्टी प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको र त्यसलाई पूर्ण रुपमा पालना गरिने उहाँको भनाइ थियो ।