प्रचण्डलाई जसपका नेताले भने – अब आश्वासनका भरमा सत्ता समीकरण हुँदैन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले र नेकपा (माओवादी केन्द्र) बीच सत्ता समीकरण बारेमा छलफल भएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सत्ता समीकरणका लागि गरेको प्रस्तावमा जपसाका नेताहरुले आफ्ना पुरानै शर्त अघि सारेका छन् ।
जसपाका नेताहरुले आफ्नो पार्टीका सांसद रेशम चौधरीको रिहाइ, मधेस–थरुहट आन्दोलनका क्रममा नेता कार्यकर्ताका लागेका मुद्दा खारेजी र संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएमात्र नयाँ सत्ता समीकरण गर्न सकिने स्पष्ट परेका छन् ।
पेरिसडाँडामा अध्यक्ष दाहाल र जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीच छलफल भएको हो । जसपा नेता महतोका अनुसार अध्यक्ष दाहालले नयाँ परिस्थिति सिर्जना भएको भन्दै सँगै जाने प्रस्ताव गरेका थिए । ओली प्रवृत्ति र प्रतिगमनविरुद्ध आन्दोलन गरेका दलहरु सँगै जाऊ भन्ने प्रस्ताव गरेपनि आफूहरुले आफ्नो पार्टीका मुद्दा सम्बोधन गरे सहयोग गर्न सकिने बताएको महतोले जानकारी दिएका छन् ।
सरकार बनाउन सके जसपाले अघि सारेका माग सम्बोधन गर्न कुनै अप्ठ्यारो नभएको दाहालले बताएपछि आफूहरुले कम्युनिस्ट नेतृत्वको दुई तिहाइको सरकार हुँदा मधेसका मुद्दामा किन सम्वोधन नगरेको भनेर प्रश्न गरेको महतोले बताएका छन ।
नेता महतोले भने‘‘मैले प्रचण्डजीलाई सोधेँ–दुई तिहाइको कम्युनिस्ट सरकार हुँदा हाम्रा माग किन सम्बोधन नगरेको त ?’ जवाफमा प्रचण्डले ‘केही गर्नै सकिएन, त्यहाँ ओलीको त्यस्तो कार्यशैली र व्यवहार छ। केही काम गर्नै दिँदैनन्, त्यो कुरा तपाईंले पनि बुझ्नु भएको छ नि ।’
जासपा अध्यक्ष ठाकुरले सत्ता समीकरणका लागि मात्रै जसपाको एजेन्डामा आएको भए सहमति नहुने भन्दै मुद्दामै सहमत हुने हो भने निष्कर्षमा पुग्न सकिने दाहाललाई बताएका छन् ।
दाहालले पहिला पनि आफूहरुले मधेशको माग पूरा गराउन पहल गरेको र अहिले पनि गर्ने प्रतिवद्धता जनाएको बताइएको छ ।
अध्यक्ष ठाकुरले आफ्नो मुद्दा सम्वोधन गरे केपी ओली, प्रचण्ड, देउवा जेसँग पनि सहकार्य गर्न सकिने बताएका छन् । उनले यसअघि आफूहरुले आश्वासनपछि सहयोग र समर्थन मात्रै गर्दै आएको बताउँदै अब भने मुद्दा हल नभएसम्म कसैलाई पनि सहयोग र समर्थन नगर्ने स्पष्ट पारेका छन् । आफूहरु सधैँ शोषण उत्पीडनमा परिरहेको बताउँदै ठाकुरले अब पनि यसैको निरन्तरता नचाहेको बताएका छन् ।