उपाध्यक्षले आत्मसमर्पण गरेलगत्तै गोइत समूहद्वारा मालपोत कार्यालयमा बम विस्फोट
काठमाडौं । जनतान्त्रिक तराई मुक्ति मोर्चा ‘गोइत’ समूहका उपाध्यक्ष रामविलास यादवले आत्मसर्पण गरेलगत्तै मालपोत कार्यालय लहानमा बम विस्फोट भएकोछ । उपाध्यक्ष यादव जिल्ला प्रशासन कार्यालय सिरहामा आत्मसमर्पण गरेलगत्तै सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट भएको हो ।
विस्फोट स्थलमा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)को पर्चा भेटिएको छ । घटनाको अहिलेसम्म जिम्मा कसैले नलिएपनि प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सोही समूहले विस्फोट गराएको आशंका छ।
विस्फोटमा परी ८ जना घाइते भएका छन् । गम्भीर घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
दुई वर्षपहिले उक्त समूहका ११ नेताले १३ थान हतियार बुझाउँदै आत्मसमर्पण समेत गरेका थिए । २०७५ मंसिरमा गोइत समूहमा रहेका १५ सदस्यीय समितिमध्ये ११ जनाले हतियार बुझाएका थिए ।
सरकारी वार्ता टोलीसमक्ष अविनाश नेतृत्वको समूहले १० थान कटुवा पेस्तोल, एक थान लामो नाल भएको कटुवा, दुई थान रिभल्बर, १२ थान गोली र एक थान डेटोनेटर बुझाएको थियो ।
लहानमा भएको वार्तामा ६ बुँदे सहमति भएको थियो। सहमतिसँगै उक्त समूह राजनीतिको मूलधारमा आउने भनिएको थियो ।
अविनाशसहित प्रदिप भनिने नथुनी यादव, रोशन भनिने रामपुकार साह, कमल भनिने योगेन्द्र यादव, भगतसिंह भनिने भवानीप्रसाद अगरिया यादव, बद्री यादव, राहुल भनिने मो। सफिर, संजय भनिने देबेन्द्र खडगा, संजयकुमार यादव, शंकर भनिने संजयकुमार यादव, फुलबाबु भनिने फुलकुमार यादव सार्वजनिक भएका थिए । आत्मसर्पण नगरेको समूह पनि निस्क्रिय जस्तै थियो । तर आज बम विस्फोट भएको छ । यसमा गोइनका नाममा अर्कैले गराएका हो कि उनीहरुले नै गराएका हुन् भन्ने बारेमा गम्भीर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
‘गोइत’ समूहका उपाध्यक्ष रामविलास यादवले आत्मसर्पण गरेको पत्र ।