नेपालमा पहिलो पटक बरामद युरेनियमप्रति सुरक्षा निकायहरुको गम्भीर चासो
काठमाडौं । नेपालमा पहिलो पटक युरेनियम बरामद भएको छ । प्रहरीले बिहीबार युरेनियम सहित केही व्यक्तिलाई पक्रेको हो । प्रहरीले केही अनौठो पदार्थ सहित उनीहरुलाई पक्रियो । युरेनियम नै हो भन्नेमा भने प्रहरीलाई शंका थियो । किनभने मूल्यवान वस्तु भन्दै बेच्ने र ठग्ने काम हुँदै आएको छ, प्रहरीले त्यस्तै ठग गिरोह होला भन्ने ठान्यो । तर, बरामद दुई केजी नौ सय ग्राम साँच्चै नै युरेनियम नै ठहरियो ।
राष्ट्रिय विधिविज्ञान प्रतिष्ठानको ल्याबले बरामद पदार्थ युरेनियम नै भएको रिपोर्ट दिँदा प्रहरी आश्चर्यमा पर्यो । युरेनियम प्रशोधित नभएर अप्रशोधित अवस्थाको रहेको प्रहरीले जानकारी दिएको छ । विश्वमा थोरै मुलुकसँग मात्र युरेनियम प्रशोधन गर्ने क्षमता छ ।
महानगरीय प्रहरी परिसर रानीपोखरीको टोलीले युरेनियमसहित नारायणसिंह तामाङ, प्रकाश चौहान, मनोज न्यौपाने र जानुका तामाङ छन् । उनीहरुलाई काठमाडौंको बौद्धबाट पक्राउ गरिएको एआईजी हरिबहादुर पालले जानकारी दिएका छन् । एआईजी पालका अनुसार नेपालमा पहिलो पटक युरेनियम बरामद भएको हो ।
दक्षिण एसियामा युरेनियमको गुप्त रुपमा कारोबार हुने गरेको समाचार विगतमा पनि आएको हो । सन् २००८ मा नेपालको सीमा पारी भारतको सुपौलमा चार किलो युरेनियम भारतीय प्रहरीले बरामद गरेको थियो । पक्राउ परेकाहरुले सो युरेनियम भारतको नागाल्याण्डबाट नेपाल लगिन लागेको वयान दिएका थिए । त्यसबेला देखि नै
नेपाल प्रहरी नेपालमा हुनसक्ने युरेनियम तस्करीमा केन्द्रीत रहेको थियो ।
युरेनियम मूल्यवान धातु हो । विश्वमा सबैभन्दा महंगो धातुमध्येमा युरेनियम पर्छ । युरेनियम रेडियो एक्टिभ हुने भएकाले यसको ओसारप्रसार समेत जोखिमपूर्ण हुन्छ । युरेनियमको ओसारपसार तथा कारोबारलाई विश्वको सबैभन्दा संवेदनशील काम मानिन्छ । युरेनियम आतंकवादी समूहको हातमा पर्न नदिन विश्वभरीका सरकारहरु सक्रिय रहँदै आएका छन् । वरामद युरेनियमको मूल्य झण्डै २३ अर्ब रुपैयाँ पर्ने बताइएको छ ।
मुस्ताङमा जिल्लामा युरेनियम खानी रहेको पत्ता लागेको छ । खानी भएको क्षेत्र सेनाको संरक्षणमा रहेको छ । त्यसैले हालै वरामद भएको युरेनियमप्रति नेपाली सेनाले पनि गम्भीर चासो राखेको छ । नेपालमा युरेनियम खानी सञ्चालन गर्न सकिने विचार प्रधानमन्त्री केपी शर्मा ओलीले राख्दै आएका छन् ।
प्रहरीले बिहीबार बरामद गरेको युरेनियम कहाँबाट ल्याइएको हो भन्ने प्रष्ट हुन सकेको छैन । प्रहरीको भनाई छ– यो नेपालमा उत्खन्नन गरिएको होइन भन्ने प्रष्ट छ, नेपालमा विदेशबाटै ल्याइएको हो ।
बरामद युरेनियम कुन देश लगिन लागेको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान जारी राखेको छ । नेपालभित्र युरेनियम भेटिँदा सबै सुरक्षा निकायको कान चनाखो भएको छ ।
प्रहरीसँगको प्रारम्भिक सोधपुछका क्रममा ग्राहक खोज्ने जिम्मा पाएका प्रकाश चौहान र मनोज न्यौपानेले आफूहरूलाई २–२ करोड रुपैयाँ कमिसन दिने प्रलोभन दिएको बताएका छन् ।
जानुका छोराछोरीसहित बौद्धमै बस्छिन् । उनका पति अमेरिकामा छन् । जानुकाका ससुरा अमर लामा पहिले भारतको खानीमा मजदुरी गर्थे । करिब अढाई दशकअघि खानीबाट अमर नेपाल फर्किएका थिए । त्यसबखत अमरले बट्टामा हालेर केही सामान ल्याएका थिए तर परिवार र बाहिरका कसैलाई पनि सुइँको दिएका थिएनन् । केही वर्षदेखि अमर पनि छोरीज्वाइँसँगै अमेरिकामा बस्छन् तर आफूसँग भएको सामानबारे उनले केही नखुलाएको जानुका बताउँछिन् । युरेनियम भन्ने शंका लागेपछि जानुका र नारायणसिंहले पनि गोप्य रूपमा त्यसको परीक्षण गरेको र त्यसपछि मात्रै बिक्रीका लागि ग्राहक खोज्दै हिँडेको हुन सक्ने प्रहरीको आशंका छ ।
जानुकाले प्रहरीलाई दिएको जानकारीअनुसार उमेरले ८० काटेका ससुरा अमर पक्षघात भएका कारण हिँडडुल गर्न सक्दैनन् तर त्यसको पुस्ट्याइँ भइनसकेको प्रहरीले जनाएको छ । अमरबारे उनकी छोरीसँग प्रहरीले शुक्रबारै अमेरिकामा कुराकानी ग¥यो । ‘बुबा बोल्न सक्नुहुन्न, प्यारालाइसिस भएको छ, हामीलाई यसबारे केही थाहा छैन’ भन्दै उनी पन्छिएकी छन् ।
ससुरा र पति अमेरिकामै भएको बेला केही समयअघि नै उक्त सामानबारे जानुकाले चिनेजानेकै नारायणसिंहलाई जानकारी गराएकी रहिछन् । नारायणसिंह पेसाले औषधि विक्रेता भएको बताएका छन् । औषधिसम्बन्धी जानकार भएकै कारण उनले युरेनियमसम्बन्धी जानुकाबाट सुइँको पाएका रहेछन् ।
राष्ट्रिय सुरक्षा संवेदनशीलताकै कारण अध्ययनबाट खानी क्षेत्र भएको पुष्टिपछि लोमन्थाङमा १ हजार २ सय ७१ रोपनी क्षेत्रफलको सुरक्षामा सेना तैनाथ छ । २०७३ साउन ७ को मन्त्रिपरिषद् बैठकले लोमन्थाङमा सम्भावित युरेनियम खानी सुरक्षार्थ सेना परिचालनको निर्णय गरेको थियो ।
नेपालमा पनि युरेनियमको उत्खनन, प्रयोग र बिक्रीसम्बन्धी रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन–२०७७ जारी भइसकेको छ । गत असार ११ मा राष्ट्रपतिबाट ऐन प्रमाणिकरण भएको हो । ऐनको दफा ५५ मा ‘नेपालभित्र फेला परेको रेडियोधर्मी पदार्थ वा सोसँग सम्बन्धित पदार्थउपर नेपाल सरकारको स्वामित्व रहनेछ’ भनिएको छ ।
के हो युरेनियम ?
सन् १९४५ को अगस्टमा जापानको हिरोसिमामा एउटा १० मिटर ठूलो बम खस्यो । बम खसेको क्षणभरमै हिरोसिमा सहर नासियो । हजारौं मानिसहरूको ज्यान गयो । यो घटनामै हो संसारले पहिलो पटक देखेको ‘युरेनियम’ को शक्ति । एक केजी युरेनियमबाट दुई लाख मेगावाट इलेक्ट्रोनभोल्ट ऊर्जा उत्पादन हुने अमृत साइन्स कलेजमा भौतिकशास्त्र अध्ययनरत मदन भण्डारी बताउँछन् । युरेनियम प्राकृतिक रूपमा टुक्रिनका लागि पनि धेरै समय लाग्ने गर्छ ।
रसायनशास्त्रमा आधुनिक पेरियोडिक तालिकामा तत्त्वहरूलाई उनीहरूको आणविक संख्याको आधारमा वर्गीकरण गरेर राखिएको छ । उक्त तालिकाको ९२ नम्बरमा छ, युरेनियम अर्थात् ‘यू’ । रेडियोधर्मी पदार्थ भएकाले यसबाट विभिन्न प्रकारका विकिरणहरू आउने भौतिकशास्त्र केन्द्रीय विभागका प्राध्यापक राजु खनाल बताउँछन् । एक हजार १ सय ३२ डिग्री सेल्सियस तापक्रममा पग्लने युरेनियमका ‘यू–२३८’, ‘यू–२३४’, ‘यू–२३५’ जस्ता आइसोटप्सहरू पाइन्छन् । आइसोटप्स भनेको एउटै तत्त्वको धेरै न्युट्रोनहरू हुन्छन् । यू–२३८ प्राकृतिक रूपमा धेरै पाइने गरे पनि यू–२३५ प्रशोधन गरेर निकालिने नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक एवं आणविक पदार्थ विज्ञ बुद्धराम साह बताउँछन् ।
युरेनियम प्राकृतिक रूपमा कम मात्रामा पाइने खनिज भएको उनले बताए । युरेनियम २३८ प्राकृतिक रूपमा पाइने गरे पनि यू–२३५ धेरै कम मात्रामा पाइने उनले सुनाए । आणविक भट्टी केन्द्रहरूमा यू–२३८ लाई टुक्र्याएर यू–२३५ बनाइने गरेको उनको भनाइ छ । यू–२३५ आणविक भट्टीमा प्रयोग हुने गरेको छ ।
‘यू–२३५ सजिलैसँग टुक्र्याउने सकिने भएकाले यो बम बनाउनका लागि प्रयोग हुन्छ,’ वरिष्ठ वैज्ञानिक साहले भने । प्रहरीले बरामद गरेको वस्तु युरेनियम नै हो भने यसलाई यति रकम नै पर्छ भन्न नसकिने बताए । अन्तर्राष्ट्रिय आणविक एसोसिएसनका अनुसार विश्वमा १० प्रतिशत विद्युत् युरेनियम प्रयोग गरिएका आणविक भट्टीहरूबाट उत्पादित हुने गरेको छ । युरेनियम मेडिकल, सैन्यलगायत क्षेत्रहरूमा प्रयोग हुने गर्छ ।
खानी तथा भूगर्भ विभागका प्रवक्ता नारायण बाँस्कोटाले नेपालमा मकवानपुरको तीनभंगाले, मुस्ताङको लोमन्थाङ र बैतडीमा युरेनियमका कणहरू भेटिएको बताए । उनले भने, ‘यी क्षेत्रहरूमा युरेनियमका कणहरू भेटिएकाले हामीले प्रारम्भिक रूपमा अध्ययन गरेका छौं ।’ यो तत्व नेपालमा शुद्ध रूपमा पाइन्छ भन्ने सम्बन्धमा बृहत् अनुसन्धान नभएको बाँस्कोटाले बताए । नेपालमा यसको शुद्धता परीक्षण र अनुसन्धान गर्ने सबै उपकरणहरू नभएकाले थोरै अध्ययन भएको उनले बताए ।