सत्तारुढ दल संसदलाई अगाडि बढाउने पक्षमा नरहेको कांग्रेस नेता खाँडको आरोप
काठमाडौं । नेपाली कांग्रेस संघीय संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले सत्तारुढ दल संसदलाई अगाडि बढाउने मानसिकतामा नरहेको आरोप लगाएका छन् ।
संसदको कार्य व्यवस्था तथा परामर्श समितीको बैठक पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मुख्य सचेतक खाँडले सत्ता पक्ष संसदलाई गतिशील र प्रभावकारी ढंगले अगाडि बढाउने पक्षमा नरहेको बताए ।
मंगलबार संसदको बैठक बस्ने भएपनि सरकारले हालसम्म कुनै पनि बिजनेश नदिएको मुख्य सचेक खाँडले बताएका छन । सरकारले जारी गरेका अध्यादेश सदन चलेका बेलामा विधेयककै रुपमा अगाडि बढाउनुपर्ने भएपनि ति अध्यादेशलाई अगाडि बढाउने सम्बन्धमा पनि सरकार गम्भीर नभएको उनले बताए ।
नेता खाँडले भने “अध्यादेशहरु वाास्तवमा सदन चलेको भए सदनबाटै अध्यादेशको रुपमा आएका छन् त्यसलाई परिस्कृत गरेर, परिमार्जित गरेर अगाडि बढाउनुपर्ने ठाउँमा ति अध्यादेशहरुलाई अगाडि बढाउने बारेमा पनि सरकार गम्भीर छैन। भोलिको सदनको कार्यसूचिका लागि सरकारले कुनै प्रस्ताव पेश गरेको छैन । कुनै कार्यसूचि छैन ।”
मुख्य सचेतक खाँडले संसदीय परम्परा अनुरुप संसद आरम्भ हुँदा सबै दलले शुभकामना मन्तव्य राख्न पनि सरकारले अभिरुचि नदेखाएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजेको लागि बोलाइएको छ। तर बैठकको कार्यसूचि अझै तय भएको छैन ।