नेपाल समूहले भोलि राष्ट्रिय कार्यकर्ता भेला गर्दै, एमाले फुटको संघारमा
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्दैछ । यो भेलालाई एमाले फुटको शुरुवातका रुपमा हेरिएको छ ।
भेलाबारे जानकारी दिन ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित पत्रकार सम्मेलनमा सो समूहका नेता योगेश भट्टराईले इतिहासले सोधेका प्रश्नको जवाफ ओलीले दिनुपर्ने भन्दै भोलि ओलीको पक्षमा दुईथोपा आँसू झार्ने मानिस समेत नहुने बताएका छन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई गुटको भेला नगर्न चेतावनी दिएको प्रसंगप्रति इंगित गर्दै नेता भट्टराईले भोलिको भेलामा आउने नेता कार्यकर्ताहरु एमालेकै भएका कारण ओलीलाई समेत भेलामा सहभागी हुन आग्रह गरेका छन् ।
नेता भट्टराईले भने ‘भोलिको भेलामा तपाईं नै प्रमुख अतिथि भएर भेलाको उद्घाटन गरेपनि हुन्छ, नजर लगाउनका लागि कसैलाई खटाउनै पर्दैन ।’
नेता भट्टराईले कारबाहीले मुलुक र पार्टी अगाडि नबढ्ने भन्दै कारबाहीको धम्की नदिन प्रधानमन्त्री ओलीलाई चेतावनी पनि दिएका छन् । पार्टी अध्यक्ष ओलीले भेला रोक्न दिएको निर्देशन समेत उल्लंघन गर्दै माधव समूहले भेला डाँकेको छ भने आज ओलीले आयोजना गरेको चियापान कार्यक्रममा पनि सो समूह सहभागी भएन । ओलीले कसले बोलाएको चियापानमा जानुहुन्थ्यो भन्दै माधव समूहलाई व्यंग्य गरेका छन् । उनको संकेत प्रचण्डले बोलाएका भए जान्थे होला भन्ने थियो । एमालेका दुवै समूहको गतिविधि र अभिव्यक्ति हेर्दा र सुन्दा एमाले फुटको संघारमा पुगेको अनुमान सहजै गर्न सकिन्छ ।