जसपाभित्र यादव र ठाकुर पक्षबीच विवाद, वैठक स्थगित
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल भित्र नेताहरुबीच विवाद बढ्दै गएको छ । पार्टीभित्र नयाँ सरकार गठनका लागि पहल गर्ने कि नगर्ने, कसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने, वर्तमान केपी ओली सरकारलाई नै समर्थन गर्ने कि शेरबहादुर देउवा वा पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउन सहयोग गर्ने भन्नेमा विवाद देखिएको छ । जसले गर्दा आज बस्ने भनिएको केन्द्रीय कार्यकारिणी बैठक समेत स्थगित भएको छ।
पार्टीभित्र सत्ता समीकरण र संसदीय दलको नेता चुन्ने सबालमा पूर्व राजपाका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवबीच कडा टकराव देखिएको छ । संसदीय दलको नेता कसलाई बनाउने भन्ने टकरावकै कारण आजको बैठक स्थगित भएको एक नेताले बताएका छन् ।
पूर्व राजपा नेताहरुले हालकै प्रधानमन्त्री ओली सरकारलाई समर्थन गर्नुपर्ने र माग मुद्दा सम्बोधन गराउनुपर्ने अडानमा छन् भने पूर्व संघीय समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईलगायत नेताहरुले कुनै पनि हालतमा ओलीलाई समर्थन गर्न नहुने अडान लिएका छन् ।
त्यस्तै तेस्रो समूहले सरकारमा जान नहुने माग राखेको छ । जसको नेतृत्वमा भएपनि अहिले पार्टी सरकारमा जान नहुने उनीहरुको माग छ ।