केन्द्रीय समिति बैठकमा गएर ओलीविरुद्ध लड्नु पर्छ : वामदेव

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले केन्द्रीय समिति बैठकमा गएर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका गलत प्रवृत्तिविरुद्ध लड्नु पर्ने बताउनु भएको छ ।
अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई पनि बैठकमा सहभागी हुन आग्रह गर्नु भएको छ ।
नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको र अध्यक्ष ओली र खनाल–नेपाल समूहले छुट्छुटै गतिविधि गरिरहेका बेला अध्यक्ष ओलीले चैत ७ गते केन्द्रीय समिति बैठक बोलाउनु भएको छ । तर नेपाल–खनाल पक्षले भने यसअघि फागुन २८ गते आफूहरुलाई थाहै नदिई वैठक राखेर प्रधानमन्त्री ओलीले गर्नु भएको महाधिवेशको मिति घोषणा, केन्द्रीय सदस्य थप गर्ने लगायतका निर्णय खारेज गरेपछि मात्र वैठकमा सहभागी हुने बताउँदै आएका छन् ।
उपाध्यक्ष गौतमले पार्टीमा गुटबन्दी नगर्न र पार्टीलाई एक बनाएर लैजान समेत आग्रह गर्नु भएको छ । नेता गौतमले भोलिको बैठकमा आफू सहभागी हुने बताउनु भएको छ । गुटगत गतिविधिले नेकपा फुटेको बताउन्दै उपाध्यक्ष गौतमले एमालेलाई फुट्न नदिन गुटगत कार्य रोक्नुपर्ने बताउनु भएको छ ।
नेपाल–खनाल पक्षको भेलाप्रति आफ्नो समर्थन नरहेको बताउँदै नेता गौतमले भेलाले पास गरेका केही प्रस्तावमा भने आफ्नो समर्थन रहेको बताउनु भएको छ । नेपाल–खनालले पार्टीमा पूर्ण बैठकको माग गर्न छाडेर छुट्टै पार्टीजस्तो भेला गर्दै हिँडेका कारण आफ्नो समर्थन नरहेको उपाध्यक्ष गौतमले बताउनु भएको छ ।
नेकपा फुट्नुको मुख्य दोषी ओली भए पनि प्रचण्ड पनि दोषी भएको उहाँले बताउनु भएको छ ।